अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)

२० असोज २०८१/डिकेश लामा

दक्षिणी झापाका कतिपय बस्तीका घरहरुमा अझै पनि पानी सुकेका छैनन् । नदि तथा खोलामा उचित बाँध नभएका कारण सामान्य बाढी आउँदा बस्ती तर्फ पस्न थालेका छन् । जसले गर्दा लामो समय देखि बाढी पीडितहरुको बास र गाँस सहज हुन सकेको छैन । गौरादह नगरपालिका वडा नं. ६ का ६५ बर्षीय बस्लु मोहमद घर भित्र जानका लागि अस्थायी बाटो बनाउँदै हुनु हुन्छ । खोला घटे पनि सिंगो बस्ती डुवानमा परे पछि जोखिम मोलेर घरमै भुजाको भरमा रात कटाउँदै आउनु भएको छ । केही पानी पर्नसाथ साना खोला खोल्छीबाट आएको पानीले नै घर डुवानमा पर्ने गरेको छ ।

मोहमद जस्तै दक्षिणी झापामा सयौं घर परिवार सँधै बाढीको जोखिम र डुवान पर्ने गरेका छन् । कतै पानी घटेर घर फर्कन थालेका छन् भने कतै अझै पनि केही घरहरु डुवानमा परेका छन् । झापाको झापा र गौरीगंज क्षेत्र सँधै बाढीको जोखिममा रहेको छ । कन्काइ नदिको बाँध फुटेर यस बर्ष झोडा बस्ती नै जोखिममा परेको छ ।

झापाको गौरीगंज, झापा, भद्रपुर, कन्काइ, गौरादह, कमल, कचनकवल, हल्दिबारी लगायतका पालिकामा मात्र यो बर्ष ३ हाराहारी घर परिवार डुवान र कटानमा परेका छन् । केही दिन यता पानी घटे पछि कतिपय मानिसहरु घर फर्कन थालेको भए पनि पानी पर्न साथ घरबाट भाग्नु पर्ने समस्या हट्न नसकेको स्थानीय अगुवा श्याम ताजपुरियाले बताउनु भयो । यस्तै बाढी छेक्न लगाइएको बाँध फुटेर मात्रै दर्जन बढी स्थान जोखिममा परेको नदि नियन्त्रणमा काम गर्दै आएको संस्था जनताको तटबन्ध कार्याक्रमका प्रमुख विजयकुमार रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार क्षति भएको क्षेत्रमा बाँध निर्माण गर्न मात्रै झण्डै ३५ करोड खर्च लाग्ने उहाँले बताउनु भयो ।

यस बर्ष इलाम र झापामा गरी सडक र पुलमा मात्र झण्डै १६ करोड बरावरको अनुमानित क्षति पुगेको पूर्वाधार विकास कार्यालय झापाका सूचना अधिकारी इन्जिनियर उत्तम खरेलले बताउनु भयो । खरेलका अनुसार मेची राजमार्ग र अन्य केही क्षेत्रमा अझै पनि सडक विग्रिएकाले यातायत अबरुद्ध रहेको बताउनु भयो । सडक अवरोधलाई नजिकिँदै गएको दशैंलाई लक्षित गरी निर्माण प्रकृया समेत अगाडि बढाइएको उहाँले बताउनु भयो ।


बाढीबाट विस्थापितहरुको स्थायी बसोबास नुहँदा स्वास्थ्य तथा शिक्षामा समस्या हुने गरेको छ । डुवान भएको क्षेत्रमा शुद्ध खानेपानीको समस्या छ । उचित बाँध नहुँदा बर्षेनी बर्षात र बाढीमा समस्या झेल्दै आएका बाढी पीडितका समस्याको दिगो समाधान खोजिनु पर्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
Next post औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे