कर्णालीमा एकै परिवार ५ जनाले गरे आत्महत्या
घरेलु हिंसाकाे परिणाम
२५ फाल्गुन २०७७, दैलेख- दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् ।
२३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनका ३ छोरी र १ छोराले सामूहिक रुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
बेपत्ता भएका मध्ये दुई छोरी १५ बर्षीया कल्पना बडुवाल र १२ बर्षीया सरिता बडुवालको हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो । यस्तै आमा सुखी बडुवाल र ८ बर्षिय छोरा ललित बडुवालको शव मङ्गलवार दिउँसो कर्णाली नदीमा फेला परेको छ ।
५ बर्षिया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिनुभएको छ ।
घर मुली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझ नै ४ जना केटाकेटी सहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन् ।
गरिब परिवार भएकोले एउटा समस्या थियो तर मदिरा सेवनसँगै लगातार घर मुलीले तनाव दिएपछि पाँच जना नदिमा हाम फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
घरमुली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरी चौकीमा अनुसन्धान गरिरहेको छ । गरिबी भए पनि मानसिंह र सुकीका चार सन्तान नियमित रुपमा विद्यालय पढ्थे । स्थानीय नेपाल राष्ट्रिय माविमा कल्पना ९, सरीता ७ र ललित २ कक्षामा पढ्थे । कान्छी छोरी पनि भर्खरै विद्यालय जान थाल्नु भएकाे थियाे। भिनाजु नाता पर्ने सिजापति पनि ५ जनाको ज्यान जाने गरी भएको घटनाको प्रमुख कारण मदिरा र घर झगडा नै भएकाे ठान्नु हुन्छ।
घटनास्थल पुगेका कर्णाली प्रदेशका प्रहरीप्रमुख डीआइजी बसन्त पन्तले भेटिएका चारवटै शबमा घाउ वा चोटपटक नदेखिएको बताउनु भएकाे छ । यद्यपि घटनाको कारण र रहस्य पोष्टमार्टमका साथै अन्य प्रहरी अनुसन्धानबाट खुल्ने उहाँकाे भनाइ छ ।