शिक्षामा समानता खोज्दै स्थानीय सरकारः गौरादहले थाल्यो एकिकृत परीक्षा प्रणाली

२२ फाल्गुण २०८०/डिकेश लामा
झापाको गौरादह नगरपालिकाले समान शिक्षा प्रणालीको विकासमा जोड दिन थालेको छ । सामुदायिक र संस्थागत विधालयका लागि एउटै प्रश्न पत्र र केन्द्रमा परीक्षा लिने प्रणाली विकास गरेसँगै शिक्षा क्षेत्रको गुणस्तर बृद्धिमा समेत टेवा पुगेको छ । केन्द्रिकृत परीक्षा प्रणालीको विकासले संस्थागत र सामुदायिक विद्यालयको परीक्षा केन्द्र र प्रश्न पत्र एउटै बनाएको छ ।

नेपालमा अझै पनि हुने खानेका छोराछोरीले संस्थागत वा बोर्डिङ स्कुल नै पढाउँछन् भन्ने अभ्यास र धारणा रहेको छ । तर झापाको गौरादह नगरपालिकामा भने निजी र सामुदायिक विधालयमा एउटै परीक्षा र अंग्रेजी माध्यमबाट पनि पठनपाठन थाले पछि शिक्षामा एकरुपता आउन थालेको पालिकाको नमूना विद्यालय प्रगति माविका प्रधानाध्यापक डिल्लिराम अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार स्थानीय तहले ल्याएको शिक्षा सुधार कार्याक्रमले विधालयमा कसरी विधार्थीको क्षमता अभिबृद्धि गर्ने भन्ने विषयमा प्रतिष्पर्धाको भावना समेत जागृति भएको बताउनु भयो ।

गत बर्ष कक्षा ८ मा निजी र सरकारी विद्यालयमा एउटै प्रश्नपत्रमा केन्द्र छुट्याएर परीक्षा गरियो । स्थानीय सरकारको परीक्षा प्रणालीले शिक्षामा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको क्षमता समेत तुलना भयो । जसले गर्दा सरकारले तय गरेको पाठ्यक्रमको उदेश्य प्राप्तीमा कस्तो नतिजा आयो भन्ने धारणा समेत विकास हुन थालेको शिक्षा शाखाका प्रमुख विदुर आचार्यले बताउनु भयो । आचार्यका अनुसार यस बर्ष देखि कक्षा ५ का विधार्थीको समेत संस्थागत र सामुदायिकको एउटै प्रश्न पत्रबाट परीक्षा लिने तयारी गरिएको छ ।

नगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयको रुपमा स्थानीय पाठ्यक्रम समेत संचालन गर्दै आएको छ । हाम्रो गौरादह नामक पुस्तक र पाठ्यक्रमले स्थानीय भाषा, सँस्कृतिबारेमा अध्ययन गराउने भएकाले पिछाडिएको समूदायबाट पनि सहभागिता बढ्न थालेको छ । झापा जिल्लामा रहेको १५ वटै पालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने कार्यमा जोड दिँदै आएका छन् । तर गौरादह नगरपालिकाले भने सामुदायिक र संस्थागत विधालयको पठनपाठन देखि परीक्षा प्रणालीमा समेत समानता ल्याउने प्रयास थालेको शिक्षकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पहिलो पटक झापामा व्यवसायिक लाहा खेतीः अन्य जिल्लामा समेत विस्तार हुँदै (फाेटाे फिचर)
Next post गौरादहका महिलाहरुले थालेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)