
उपनिर्वाचनका लागि इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी दर्ता
२४ चैत्र २०८०, इलाम– बैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा २० जनाकाे उम्मेद्वारी परेकाे छ । मुख्य ठूला राजनैतिक दल एमालेबाट सुहाङ नेम्बाङ, नेपाली काँग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन याेङहाङ लिम्बु, ८ जना स्वतन्त्र र अन्य पार्टी जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेशनल रिपव्लिक नेपालबाट धनराज राना मगर, मंगाेल नेशनल अर्गानाइजेशनबाट मनिबहादुर लिम्बु, नेपाल जनता दलबाट रेशमबहादुर सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरूङ, नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गणेशबहादुर चाैहान, राष्ट्रिय मुक्ति अान्दाेलन नेपालबाट जयवन्त विक्रम शाह, रहेका छन् ।
त्यसैगरी बझाङ प्रदेश सभा १ क मा प्रदेसभा सदस्यको लागि हुने उपनिर्वाचनको बिभिन्न ९ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमा नेकपा एमालेका दमन भण्डारी, नेकपा माओवादी केन्द्रका जनक बुढा र नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह, नेकपा एकिकृत समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाममा नेकपा एमालेको उम्मेदवारलाई समर्थन गरेको माओवादी केन्द्रले बझाङ प्रदेशसभा १ क को सदस्यमा भने छुट्टै उम्मेदवारको मनोनयन दर्ता गराएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै मनोनयन दर्ता गर्ने अन्य राजनीतिक दलमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚ नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्ती मगर र जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री रहेका छन् । बझाङमा १९ राजनीतिकदलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
२५ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । यसैगरि चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।