अवैध दोहनले बर्षेनी चुरे जोखिममाः स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा दोहन गरिँदै

३० बैशाख २०८१/सारासन्देश समाचार

ठेक्का लगाएर अनुगमन नगर्दा अधिक दोहनसँगै चुरे क्षेत्र जोखिममा पर्दै गएको छ । तोकेको मापदण्ड र स्थान भन्दा बाहिर गएर उत्खनन् हुँदा बर्षेनी खोला तथा नदि भाँसिनेक्रम रोकिन सकेको छैन ।

सरोकारवाला निकायले अनुगमन तथा रेखदेखमा चासो नदिए पछि पछिल्लो समय स्थानीय बासिन्दा नै चनाखो बन्न थालेका छन् । तर ठेकेदार र जनप्रतिनिधि नै मिले पछि लार्पावाही उत्खनन् रोकिन सकेको छैन ।
यस बर्ष मावा खोलामा अवैध दोहनमा स्थानीय तहका वडाध्यक्ष र ठेकेदारको समेत संलग्नता रहेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र दमक वडा नं. ३ को सिमाक्षेत्र अन्तर्गत झापा पटि लगाएको बाँधको थुपारिएको ढुङ्गा गिटी सम्याउँन भन्दै १ सय टिफर भन्दा धेरै बालुवा गिटी ढुवानी गरे पछि स्थानीयले विरोध गरे पछि रोकिएको छ । गाउँलेले रोके पछि खोलामा पुगेका पत्रकारको समूहलाई समाचार लेखेकै आधारमा गाली गलौज गर्ने ठेकेदार समूहका विनोद थापाले यस अघि इलाका प्रहरी कार्यालय दमकमा माफी समेत मागेका छन् । तर अझै पनि खोलाका बालुवा गिटी भने ओसार पसार भइरहेको गाउँलेले बताएका छन् ।

यस बर्ष झापाको दमक र मोरङ्गको मिक्लाजुङ्ग पालिकाले सिमानामा रहेको मावा खोलामा २ करोड ३९ लाखमा लागेको ठेक्का बराबरको ढुङ्गा गिटी लगिसकिएको छ । खोलामा मेशिनको प्रयोग निषेध छ । तर पनि स्थानीय तहकै मिलेमतोमा अवैध दोहन भइरहेको अनुगमनमा पुग्नु भएको जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले बताउनु भयो । बरालका अनुसार वडाध्यक्षले पत्र लेखेर खोला सम्याउनु भन्नु नै पहिलो कुरो अवैधानिक भएको बताउनु भयो । उहाँका अनुसार खोलामा जथाभावी उत्खनन् गरी बालुवा तथा ढुङ्गा ओसार पसार गर्नेलाई कार्वाहीको दायरामा ल्याउन आफूले पहल गर्ने बताउनु भयो । खोलामा अवैध तरिकाले उत्खनन् गर्दा खन्ने मेशिनको जरिवाना २ लाख हुने स्थानीय तहले विनियम बनाएको छ । तर आफन्त र चिनेकै भरमा दमक नगरपालिकाले कार्वाही गर्न नसकेको दमक वडा नं. ३ का बासिन्दाले बताएका छन् ।

आफूहरुले मेयरलाई फोन गरेर जानकारी गरे पछि नगर प्रहरी पठाएको र भरे विना जरिवाना तथा कार्वाही छाडिएको स्थानीय युवा क्षितिज खड्काले बताउनु भयो । खड्काका अनुसार नगरपालिकाका जिम्मेवार जनप्रतिनिधिकै मिलेमतोमा अवैध उत्खनन् भएको कार्वाही नहुँदा प्रष्ट भएको बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख सहित विभिन्न मिडियामा समाचार अाउँदा समेत कार्वाही नगरिनुले दमक नगरपालिका जिम्मेवार जनप्रतिनिधि लाचार भएकाे गाउँलेहरूकाे भनाइ छ ।
ठेकेदारहरुले जनप्रतिनिधिसँग मिलेर अवैध उत्खनन् गरेको स्थानीयले समेत बताएका छन् । बाँध निर्माण गरेको चुरे क्षेत्रमा खन्न थाले पछि बुझ्दा जनप्रतिनिधिले नै आदेश दिएर खनेको भने पछि रोक्न पुगेका सूर्य लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष सन्त तामाङले बताउनु भयो ।

सिमा क्षेत्रमा पर्ने मावा खोला यस बर्ष मोरङ्गको मिक्लाजुङ गाउँपालिकाले ठेक्का लगाएको हो । मेशिनको प्रयोग गरेर ठेक्का बराबरको नदिजन्य सामाग्री लगिसकेको भए पनि अझै उत्खनन् र ओसार पसार रोकिन नसक्दा चुरे क्षेत्र जोखिममा पर्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा माछाको भुरा उत्पादन नहुँदा किसान समस्यामाः याे बर्ष १० लाख रूपयाँ अनुदान
Next post गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक पाएनन्