बाढी पहिरोमा परी कोशीमा ६ जनाको मृत्युः आठ जना बेपत्ता

१२ असाेज २०८१, सारासन्देश समाचार– अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धनकुटामा दुई जना, पाँचथरमा तीन जना र इलाममा एक जना रहेका छन् ।

धनकुटाको पाख्रिवास नगरपालिका-५ गुँरासेदेवीथानमा पहिरोले पुरेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ३ बजे पहिरोले पुरिएर ३० वर्षीया आशा तामाङ र उनकी आमा ५० वर्षीय रामकुमारी तामाङको मृत्यु भएको हो । घरमा सामान निकाल्ने क्रममा उनीहरुलाई पहिरोले पुरेको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिनु भएकाे छ ।

यस्तै, सोही पहिरोमा परी २४ वर्षीया गर्भवती महिला मिनमाया तामाङ घाइते भएकी छन् । उनको सामान्य अवस्थामा जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । यस्तै, शनिबार बिहान पहिरोमा परी पाँचथरको फिदिम-४ चिसापानीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम-१२ की २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरी डोल्मा रहेको प्रहरीले जनाएको छ । फिदिम-४ स्थित आदिवासी जनजाति महासंघको भवन रेखदेख गर्न बसेकी फुर्लु शेर्पाकोमा पाहुना आएका उनीहरु सुतिरहेको अवस्थामा महासंघको भवनलाई पहिरोले पुर्दा आमाछोरीको मृत्यु भएको हो ।

यस्तै, पाँचथरको फिदिम नगरपालिका(१ साँगेबोटेमा पहिरोमा परी ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम १ कात्तिके घर भई राजकुमार नेम्वाङको घरमा डेरा लिई फुरुङ्गा हाइड्रोपावरमा काम गर्ने उनलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी चार जना बेपत्ता भएका छन् । पहिरोमा परी सोही ठाउँका कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो र सरस्वती तुम्बापो बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको छ । यस्तै, इलामको माई नगरपालिका ८ मा सेते खोलाले बगाउँदा स्थानीय ६८ वर्षीय मैतेबहादुर लिम्बुको ज्यान गएको छ ।

यस्तै, खेलाले बगाउँदा झापामा तीन र मोरङमा एक गरी चार जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । यस्तै सयाैँकाे संख्यामा बाढी र डुवानका कारण विस्थापित बनेका छन् । बर्षात केही कम भए पनि नराेकिएकाले अझै जाेखिम बढ्न सक्ने भएकाले सतर्क रहन प्रहरीले अाग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वास्थ्य र आत्मा रक्षाका लागि शरणाार्थी महिलालाई खेल उत्प्रेरणा तालिम(फाेटाे फिचर)
Next post तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुराेध