
भन्सार विनै छाेटी भन्सारबाट भारतीय सामान नेपाल भित्रदैँ
२९ कार्तिक २०८१/डिकेश लामा
झापाको झापा बजार नजिक रहेको कुमरखोद झापा छोटी भन्सार लामो समय देखि बन्द रहेको छ । भन्सार बन्द भए पछि भारतबाट नेपाल ल्याइने सामानहरु विना भन्सार भित्रने गरेका छन् ।
झापाको दक्षिण पश्चिम भारतको सिमासँग जोडिएको झापा गाउँपालिकामा रहेको कुमरखोद झापा छोटी भन्सार भद्रपुर भन्सार माताहत संचालन हुँदै आएको छोटी भन्सार हो । कोरोना कहर पछि पूर्णरुपमा बन्द रहेको भन्सारमा यतिखेर सुरक्षाकर्मीको अस्थायी बसोवास रहेको छ । भन्सार संचालन नभएका कारण पछिल्लो समय अधिक सामानहरु विना भन्सार नेपाल भित्रने गरेको स्थानीय बासिन्दाले बताएका छन् । भन्सार तिर्न टाडा जानु पर्ने भएकाले भन्सार नकाटी नै सामान ल्याउने गरेको स्थानीय बासिन्दा मञ्जु गणेशले बताउनु भयो । उहाँका अनुसार घरायसी सामानका लागि भन्सार नकाट्ने भए पनि व्यवसायीहरुले ल्याउने सामान समेत नकाटी लगेका छन् । यस्तै नाकाबाट घरायसी सामान ल्याउँदै गरेका सुरुङा निवासी डिल्लि ढुङगेलका अनुसार भएको छोटी भन्सार पनि बन्द हुँदा राजश्व चुहावट भइरहेको छ । घरायसी सामान ल्याउनेलाई सहज भए पनि ठूला व्यवसायीहरुले ल्याउने भन्सार भने उठ्न नसकेको उहाँले बताउनु भयो । भन्सार बन्द हुनु संघीय सरकारको कम्जोरी भएको उहाँले बताउनु भयो ।
झापा बजार देखि नजिकै रहेको दिगेलबंंैक बजारमा नेपाली ग्राहकहरु धेरै पुग्ने गर्दछन् । जुन बजार आवातजावात हुँदा कुमरखोद छोटी भन्सारको प्रयोग हुने गर्दछ । तर भन्सार हुँदा अवैधरुपमा सामानहरु प्रवेश गर्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जु देवि थपलियाले बताउनु भयो । थापाका अनुसार सानातिना सामानलाई नरोके र ठूला व्यवसायीलाई भने रोक्नका लागि सुरक्षाकर्मी नै परिचालन गरेको उहाँले बताउनु भयो ।
यस्तै झापा गाउँपालिकासँग सिमा जोडिएको गौरीगंज गाउँपालिकामा रहेका अन्य २ वटा छोटी भन्सार पनि बन्द रहेका छन् । भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट पनि त्यतिकै अवैधरुपमा सामानहरु आयात हुने गरेका छन् । पूर्वी नेपालको मुख्य नाकामा रहेको मेची र भद्रपुर भन्सार माताहत झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु स्थापना गरिएको छ । तर ती छोटी भन्सार संचालनमा आउन नसक्दा राजश्व संकलन हुन सकेको छैन भने सिमावर्ती बजारको समेत विकास हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।