
दोमुखामा मुक्तिनाथमा जस्तै ढुङ्गाकाे १०८ धारा बनाइने
११ वैशाख २०८२/झापा
झापाको निक्कै चर्चित र पुरानो धार्मिक तथा पर्यटकीय स्थल दोमुखमा १०८ धारा निर्माण गरिने भएको छ । पर्यटकीय क्षेत्र व्यवस्थापन समितिले मुक्तिनाथको भ्रमण गरी त्यहाँबाट ल्याइएको १०८ शीला, माटो र जल चढाएर आगामी १७ गते देखि औपचारिकरुपमा कामको शिल्यान्यास गरिने आज गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
धार्मिक पर्यटकीय क्षेत्र दोमुखाको मन्दिरमा आज गरिएको सम्मेलनमा व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद लावातीले झण्डै ८५ लाख बजेटमा धारमा निर्माण गरिने बताउनु भयो । १ सय ८ वटा धारा जडानमा व्यक्ति वा परिवारको नाममा राख्न चाहनेले समेत ३५ हजार देखि ५१ हजार रुपयाँसम्म नगद सहयोग गरी स्थापना गर्न सकिने उहाँले बताउनु भयो । दाताको सहयोग र पर्यटन क्षेत्रको लगानीमा प्राकृतिक ढुङ्गा कुँदेर धारा बनाइने बताइएको छ ।
सम्मेलनमा अध्यक्ष लावतीले धारा निर्माणमा लाग्ने खर्च व्यवस्थापनका लागि पुराण, महाेत्सव समेत लगाइने छ । त्यस बाहेक सरकारसँग समेत सहयाेगकाे माग गरिएकाे बताउनु भयाे ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० पर्ने दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्रदेश तथा स्थानीय सरकारले पछिल्लो समय चासो दिएको छ । हालसम्म प्रदेश सरकारकाे २ करोड र स्थानीय सरकारले ५ करोड बढी खर्च गरी पर्यटन क्षेत्रमा विभिन्न संरचनाहरु निर्माण गरिएका छन् ।