झापाको दमक नगरपालिकाको सहयोगमा महिलाहरुले डेंगु संक्रमण नियन्त्रणका लागि मच्छड धुप उत्पादन गर्न थालेका छन् । निम, लेमनग्रास कुपुर, धुपी लगायतका स्थानीय बस्तुहरुको प्रयोग गरी थालिएको धुप उत्पादनले रोजगारी समेत सृजना भएको छ ।

बाटेको मच्छड धुप विक्रीका लागि हालै आएर अपाङ संघ दमकले विक्री केन्द्र संचालनमा ल्याएको छ । दमक नगरपालिकाले बाटेको मच्छड धुप विक्रीका लागि छुटै विक्री केन्द्र समेत स्थापना गर्न सहयोग गर्ने पालिकाका प्रमुख रामकुमार थापाले बताउनु भयो ।
धुप निर्माणमा स्थानीय स्तरमा पाइने जडिबुटीजन्य बस्तुहरुको प्रयोग गरिएको छ । धुपको प्रयोग गर्दा डेंगु संक्रमण न्यूनिकरणमा समेत टेवा पुग्ने आयुर्वेदिक क्षेत्रका डा. सिद्धार्थकुमार ठाकुरले बताउनु भयो । यस्तै नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले महिलाहरुले हातबाट बाटेको धुपको बजारीकरणमा सबै लाग्नु पर्ने बताउनु भयो ।
बाटेको मच्छड धुप पाथिभरा हेल्थ एण्ड वेलनेस फाउण्डेशको सहकार्यमा उत्पादन हुँदै आएको छ । संचारकर्मी समेत रहनु भएका फाउण्डेशका संचालक बिष्णु प्रसाद पोख्रेलले नगरपालिकाले सहयोग गरे स्थानीय स्तरमै उत्पादन गरेको मच्छड धुपको ब्रान्डले दमकलाई चिनाउने बताउनु भयो । धुप बाटने महिलालाई यो कार्यले रोजगारी समेत मिलेको उनीहरुले बताएका छन् ।
