१  भदौ  २०८२/बालदिवस तामांग 
झापाको कन्काइ नदिको बाढीले अघिल्लो बर्ष देखि कटान गर्दै आए पछि सुकुम्बासी बस्तीबाट हालसम्म ५ दर्जन परिवारहरु विस्थापित भइसकेका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १० पूर्व पश्चिम राजमार्ग उत्तरी क्षेत्रको बस्ती यो बर्षको बाढीले थप उच्च जोखिममा परेको छ ।
पछिल्लो समय अति जोखिम क्षेत्रका केही स्पोर र प्रकोपाइन प्रविधिको बाँध निर्माण गरिए पनि कटान बढ्दै गएको छ । जसले गर्दा शिवसताक्षी नगरपालिकाको माइधारमा रहेको सुकुम्बासी बस्तीका धेरै घर परिवार जोखिममा रहेको ३२ बर्ष देखि बसोवास गर्दै आउनु भएका जोखिम क्षेत्रका रंगलाल थपलियाले बताउनु भयो । ८२ बर्षीय थपलियाका अनुसार नदीको कटान छेक्न लगाइएको सिमेन्टको त्रिकुटी समेत बगाउन थालेकाले यो बर्षको बाढीमा थप क्षति हुने छ ।

झापा जिल्लामा सवै भन्दा धेरै कन्काई नदिको बाढीले क्षति गर्ने गरेको छ । यो बर्ष कन्काई नदिमा आएको बाढीले आधा दर्जन बढी बस्ती जोखिममा रहेका छन् । बस्ती जोगाउन विपद व्यवस्थापन कार्य अन्तर्गत यो बर्ष बाँसको प्रकोपाईन विधीबाट छेक्ने काम भएको सिंचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय गैंडेका सूचना अधिकारी इन्जिनियर बलराम भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार उक्त स्थानमा केहि रोकथाम भए पनि ठूलो बाढी आउँदा जोखिम हुन सक्ने देखिएको छ ।

बाढीबाट विस्थापित भएकाहरु डेरा तथा अन्य सार्वजनिक स्थलमा बसोवास गर्दै आएका छन् । कतिपयलाई नगरपालिकाले व्यवस्थापन समेत गरेको छ । तर अति विपन्न विस्थापित परिवारलाई भने जिविकोपार्जनमै समस्या हुँदै आएको छ ।

झापामा यस बर्ष बाढीका कारण डुवेर र बगाएर गरी जेष्ठ महिना यता मात्र १५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस बर्ष अझै ठूलो बर्षा र बाढी आएमा धेरै धनजनको क्षति हुन सक्ने जोखिम क्षेत्रका बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *