चुनावी चटाराेकाे मौका छोपेर झापामा चुरे क्षेत्रमै खोला तथा नदि दोहन तीव्र (फाेटाे फिचर सहित)

मावाखाेलामा भएकाे दाेहन

मापदण्ड विपरीत लार्पावाही दोहनले करोडौंको सिंचाई तथा खानेपानी योजनामा समस्या

१८ वैशाख २०७९/डिकेश लामा
प्रहरी प्रशासन निर्वाचन केन्द्रित भएको वेला झापामा मापदण्ड विपरित खोला तथा नदि दोहन तीव्ररुपमा बढेको छ । ठेक्का लागेको खोलामा पनि एक मिटर भन्दा गहिरो खन्न नपाउने मापदण्ड भए पनि मेशिनको प्रयोग गरी अत्याधिक गहिरो उत्खनन्ले सिंचाई तथा खानेपानी योजना समेत जोखिममा परेका छन् ।
झापामा यस बर्ष विगतमा जस्तो खोला तथा नदिमा नदिजन्य सामाग्री निकाल्ने ठेक्का भने घटेको छ । तर ठेक्का घटे पनि अवैधरुपमा मापदण्ड विपरित धमाधम नदि तथा खोला दोहन कार्य भने नरोकिएको मावा खोला क्षेत्रमा व्यापक खोला दोहन भएको मावा खोलामा पछिल्लो समय अधिक दोहन भएको भन्दै स्थानीय मानवहादुर कुरुम्बाङ्गले बताउनु भयो । उहाँका अनुसार नदीजन्य पदार्थ सकिने गरी गहिरो उत्खनन गर्दा नदीमुनिको माटो देखिएको छ । ‘नदीको चरम दोहन भएको छ । चुनावको मौकामा सबै व्यस्त भएको वेलामा बालुवा–गिटी सकिएर माटो देखिने गरी दोहन भइरहँदा पनि दमक नगरपालिकाले वास्ता गरेन । एक मिटरसम्म गहिरो खन्नुपर्ने नदी पाँच मिटरसम्म खनिएको छ,’ उहाँले बताउनु भयो । ‘चुनावी खर्च उठाउनलाई निवर्तमान जनप्रतिनिधिले यस्तो गरेको हुन सक्छ । उनीहरूको मिलेमतोविना कसरी यस्तो उत्खनन हुन्छ । यसमा प्रशासनको पनि मिलेमतो छ । यहाँको स्थानीयलाई हेपेर यसरी दोहन गरेका छन् । यहाँ गुन्डा राखेर नदी दोहन भइरहेको छ । हरेक ट्रिपमा ३ सय रुपयाँ स्थानीयका लागि दादा भत्ता समेत छुट्याउनु पर्ने विडम्बनाले खोलामा मजदुरी गर्नेको पसिनाको मुल्य समेत दादागिरीबाट असुल भइ रहेको छ । उहाँले गुनासो पोख्नु भयो ।

यस्तै मावा खोलाको चुरे क्षेत्रमै अधिक उत्खनन् भएकाले खोलाबाट करोडौं रुपयाँ लगानीमा संचालन भएका मावा खोला ढुङगे सिंचाई र दुम्से खानेपानी योजनामै समस्या आएको दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हिमदल भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार तल्लो भागमा गहिरो दोहनले उत्तरी क्षेत्रमा रहेको खानेपानी र सिंचाई तथा कुलो संचालनमा धेरै समस्या भएको छ ।
खोला ठेक्का लगाएको बहानामा स्थानीय प्रहरी प्रशासनले ध्यान नदिँदा धेरैवटा खोलामा मनपरी मेशिनको प्रयोगबाट नदिजन्य सामाग्रीको दोहन भईरहेको छ । चुनावको चटारोको मौका छोपी खोला दोहनमा लाग्नेलाई प्रहरी प्रशासनले हदैसम्मको कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । तर यस बेला चुनावको मौका छोपेर अधिक मात्रामा खोला तथा नदि दोहन भईरहेको छ ।

जिल्लामा दमक नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि मावा खोला लगाएको छ । दमक र मिक्लाजुङको सीमामा रहेको यो खोला उत्खननका लागि किसान एण्ड दृष्टि बिल्डर्स प्रालिले तीन करोड ५१ लख रुपैयाँमा ठेक्का लिएको छ ।
ठेक्का दिन नगरपालिकाले बनाएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) रिपोर्ट अनुसार ४२ सय मिटर लम्बाइ, ३०–४० मिटर चौडाइ र आधा मिटरदेखि एक मिटरसम्म गहिराइमा उत्खनन गर्न पाउनेछ । ४२ सय मिटरमा उत्खनन गर्दा प्रत्येक पाँच सयदेखि ६ सय मिटरको बीचमा ५० देखि सय मिटरको ग्याप राख्नुपर्ने दमक नगरपालिकाका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताउनु भएको छ । चौधरीका अनुसार बाढीले ल्याएको नयाँ नदीजन्य पदार्थ मात्र उत्खनन होस् भनेर आधा मिटरदेखि एक मिटर मात्र गहिराइमा खन्न आइइई रिपोर्ट तयार पारिएको हो । तर, ठेक्का लिएको कम्पनीले पछिल्लो समय मापदण्डविपरीत उत्खनन गर्दा पनि दमक नगरपालिका भने मौन छ । ठेक्का लिने कम्पनीले लगातार करिब चार किलोमिटरसम्म बीचमा ग्याप नराखी उत्खनन गरेको छ । उसले मापदण्ड विपरीत करिब ८० मिटर चौडाइ र तीनदेखि पाँच मिटर गहिराइमा नदी उत्खनन गरिरहेको खोला प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

स्थानीय जनप्रतिनिधि निर्वाचनमा व्यस्त भएको र कतिपय जनप्रतिनिधिले राजीनामा दिएको मौका पारेर पाँचगुणा बढी गहिराइमा नदी उत्खनन भइरहेको छ । दमक–३ र मिक्लाजुङको सीमामा पर्ने यो क्षेत्र चुरे क्षेत्र पर्छ । चुरेको अवैध दोहन भइरहँदा पनि ठेक्का लगाउने नगरपालिका र स्थानीय प्रशासन मौन छ । चुनावी बहानामा भइरहेको अवैध उत्खननमा यी निकायले अनुगमन गरेका छैन ।

पछिल्लो समय प्रशासन पनि चुनाव केन्द्रित सुरक्षामा लागेको छ । निर्वाचनको वेलामा हुने गलत कामको नियन्त्रणमा प्रशासन संवेदनशील रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । प्रजिअ रिजालका अनुसार नदीजन्य पदार्थको ठेक्का लगाउने, आइइई गर्ने, अनुगमन गर्ने जिम्मेवारी कानुन अनुसार स्थानीय तहको हो । तर त्यसरी लार्पावाही दोहन भए प्रशासन चुप लागेर नबस्ने बताउनु भयो । उहाँले त्यस्तो कार्य भएको भए तत्काल सुरक्षाकर्र्मी लगाएर नियन्त्रणको काममा लाग्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा १२१ स्वतन्त्र उम्मेद्वारलाइ एक दर्जन चुनाव चिन्ह (हेर्नुहाेस् विवरण तालिका सहित)
Next post नेपालमा आज २० संक्रमित, २७ जना निकाे