२४ बैशाख २०७९/डिकेश लामा
चुनाव लागेसँगै झापामा ऐलानी जग्गामा बसोबास गर्ने बासिन्दाले बसोवासी क्षेत्रको सुरक्षा गर्न माग गरेका छन् । कमल गाउँपालिका वडा नं. २ मा दुई दशक देखि बसोवास गर्दै आएका सुकुम्बासीले अन्तै सार्ने योजना बनाएको भन्दै आफूहरुलाई सोही स्थानमा व्यवस्थित गर्न माग गरेका हुन् । कमल गाउँपालिका वडा नं. २ का झण्डै ३० घर सुकुम्बासीले बस्ती प्रवेश क्षेत्रमा नो धनीपूर्जा नो भोट अर्थात धनीपूर्जा नदिए भोट नदिने भन्ने व्यानर टाँगेका छन् । उनहरुले यो व्यानर टाँगेर धनीपूर्जा पाउने भन्दा पनि बर्षौं देखि आफूहरुको समस्या नेता समक्ष जानकारी गराउँन व्यानर टाँगेको उनीहरुले बताएका छन्
संघीयता कार्यान्यवनसँगै आफूहरुले धनीपूर्जा पाउने आशा पलाएको बस्तीमा पछिल्लो समय बस्ती नै सार्ने भने पछि सो क्षेत्रका बासिन्दा चिन्ता थपिएको छ । लामो समय देखि बसोवास गर्दै आएका उनीहरुलाई सार्नुको सट्टा सोही स्थानमा व्यवस्था गर्नु पर्ने स्थानीय महिला दिलकुमारी लिम्बुले बताउनु भयो । लिम्बुका अनुसार कमल वडा नं. २ क्याम्पा बजार उत्तरी क्षेत्रका सुकुम्बासीलाई सो स्थानबाट नहटाइ सोही स्थानमा व्यवस्थित गरिनु पर्ने बताउनु भयो ।
पछिल्लो समय झापामा १५ वटै पालिकामा अव्यवस्थित बसोवासीका लागि फारम भर्ने काम भइरहेको छ । तर यस अघि पनि पटक पटक फारम भराएको भन्दै केही पालिकामा काम सुस्त भएको राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार केही पालिकाले फारम भर्ने कार्यमा ढिलाई गरेका छन् । कतिपयले बजेट नै विनियोन नगरेकाले फारम संकलनमा समस्या समेत भएको जनाइएको छ । झापा जिल्लामा ३५ हजार भन्दा धेरैको जग्गा फारम अनुसार धनीपूर्जा दिनु पर्ने अवस्थामा छ । कमल गाउँपालिकामा मात्रै साढे ७ हजार भन्दा धेरैको अव्यवस्थित बसोवास रहेको आयोगले जानकारी दिएको छ ।