अभाव भए पछि महँगो मूल्यमा अवैध मल भारतबाट ल्याउँदै किसानः सभामुखद्वारा सरकारकाे ध्यानाकर्षण
२९ जेष्ठ २०७९, सारासन्देश समाचार–बजारमा मल नपाए पछि झापाको सीमावर्ती क्षेत्रका किसानले भारतबाट लुकाइ छिपाइ अवैधरूपमा महँगो मुल्यमा मल किन्नु पर्ने बाध्यता छ । हरेक बर्ष खेतीको सिजनमा मलको अभाव झेल्दै आएका किसानले यस बर्ष लामो समय देखि मलको अभाव झेल्नु परेको छ । पूर्वी नेपालको बजारहरुमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती क्षेत्रमा भारतीय मल लुकीछिपी नेपाल भित्रने गरेका छन् । धान खेतीमा युरिया मलको उच्च माग रहेको यो वेला जिल्लामा मल नहुँदा झापाको भारतीय सिमावर्ती क्षेत्रबाट महँगो मुल्यमा किनेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
लामो लकडाउनले झापामा युरिया मल किसानले हालसम्म पाउन सकेका छैनन् । मल पाउन अझै केही साता लाग्ने कृषि सामाग्री केन्द्रले जानकारी दिएको छ । धानमा युरिया मल चाहिने वेला मल नपाए पछि सीमा क्षेत्रमा मल ल्याउने लानेलाई रोक्न सीमा प्रहरीलाई नै निक्कै समस्या हुने गरेको झापाको झापा गाऊँपालिका सीमावर्ती क्षेत्र वडा नं. ४ का अध्यक्ष राजुजंग भारतीले बताउनु भयो ।
समयमा मल उपलव्ध नहुँदा किसानले भारतबाट अवैधरुपमा भित्राइएका मल महँगो मुल्यमा खरिद गर्न बाध्य छन् ।
सभामुखद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण
यसैबीच अाज सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल तथा बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले उक्त मागप्रति ध्यानाकर्षण जनाउँदै शीघ्ररुपमा मलखादको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
“खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु”, सभामुख सापकोटाले भन्नुभयो ।