नेपालकै सवै भन्दा धेरै खेती हुने रबरलाई झापामा उद्योगमा लगिँदै (फाेटाे फिचर सहित)
३० जेष्ठ २०७९/बालदिवश तामाङ
नेपालमा देशकै सवै भन्दा धेरै रबर खेती गर्ने झापा जिल्लामा रबर खेतीलाई उद्योगमा लगिने प्रयास थालिएको छ । रबर उत्पादन समेत बढ्न थाले पछि रबरजन्य ५० हजार भन्दा धेरै प्रकारका सामाग्री बन्न सक्ने रबरलाई उद्योगमा लान यान्त्रिकरण र प्रविधिमा जोड दिन थालिएको रबर जोन कार्यान्वयन इकाइ झापाले जानकारी दिएको छ ।
विभिन्न कृषि संघ संस्था र बनमा लगाइएका रवर खेती बढ्दै जान थाले पछि जिल्लामा धेरैले रोजगार समेत पाएका छन् । ५ बर्ष देखि रबर जोन कार्यक्रम संचालनमा ल्याई राज्यले प्रविधि, सिंचाई, धँुवाघर लगायतमा ५० प्रतिशत अनुदान उपलव्ध गराउँदै आएको छ । यस बर्षको ४० लाख बजेटमा रबर प्रशोधन प्रविधिमा अनुदान दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ रबरजोन झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार रबरको गम या वेलुन जस्ता सामाग्री उत्पादन गर्न सक्ने खालको उद्योग संचालनका लागि केही कृषि समूह तथा सहकारीसँग सम्झौता भई काम अगाडि बढेको छ । विगत बर्षमा हाते प्रविधिबाट रबरको चोपलाई प्रशोधन गर्ने किसानहरु ४ बर्षको अन्तरमा विधुतीय मेशिनको प्रयोग गरी रबर उत्पादन गर्न सक्ने बनेका छन् । अव जिल्लामा स्वदेशमै रबरका विभिन्न परिकार बनाउन सक्ने रबर उत्पादन गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । अझै पनि ९४ प्रतिशत रबरजन्य सामाग्री र बस्तुहरु विदेशबाटै आयात हुने गरेको बताइएको छ ।
झापा जिल्लामा पछिल्लो समय रबर खेती विस्तार हुने क्रम बढेर गएको छ । उचित प्रविधि र खेती विस्तार समेत हुन थाले पछि रबरको चोप उत्पादन समेत बढ्न थालेको छ । खेती र उत्पादन बढेसँगै स्वदेशमै रोजगारी र आम्दानी समेत हुने गरेको खेतीमा लाग्नु भएका युवा योगेश भट्टराईले बताउनु भयो । जिल्लामा केही सामुदायिक बन, कवुलियती बन, कृषि सहकारी संस्था र निजी क्षेत्रबाट रवरको खेती हुँदै आएको छ । सरकारले नीति बनाएर नै खेती विस्तार गर्ने हो भने विश्व बजारमा अधिक प्रयोग हुने रबरले धेरैले रोजगारसँगै समृद्धि हासिलमा टेवा पुग्ने रबर खेतीका अगुवा शान्ति चिमरियाले बताउनु भयो । चिमरियाका अनुसार सरकारले रबरजोन संचालनमा आवश्यक बजेट विनियोजन गर्न नसक्दा भने जसरी खेती विस्तार हुन सकेको छैन ।
नेपालमै सवै भन्दा धेरै झापा जिल्लामा ५ सय हेक्टर हाराहारी क्षेत्रफलमा रबर खेती हुँदै आएको छ । अवका दिनमा रबर खेतीलाई उद्योगको रुपमा विकास गर्न आवश्यकता रहेको किसानले बताएका छन् । जिल्लामा व्यक्तिगत भन्दा पनि सहकारी, कृषि फर्म र समूहले ठूलो क्षेत्रमा रबर खेती गर्दै आएका छन् ।