बाढीले मुहान बगाए पछि चुरे क्षेत्रमा खानेपानीकाे समस्या (फाेटाे फिचर सहित)
२० असार २०७९/डिकेश लामा
खानेपानीका लागि आवश्यक पूर्वाधार मावा खोलाको बाढीले बगाए पछि झापा र इलामको सीमा चुरे क्षेत्रका बासिन्दाहरु खानेपानीको समस्यामा परेका छन् । केही दिन अघि आएको बाढीले दुई वटा मुहान बगाए पछि खानेपानीको समस्या भएको हो ।
बाढीले खानेपानी मुहान सहितको पाइप बगाए पछि सयौं घर परिवार खानेपानी समस्यामा परेका छन् । चुरे क्षेत्रमा गाडिएको पाइप बगाउँदा झापाको दमक वडा नं. ३ र इलामको चुलाचुली वडा नं. ५ क्षेत्रका बासिन्दाहरु खानेपानीको समस्यामा परेको स्थानीय अगुवा अमृत राईले बताउनु भयो । राइका अनुसार २ कराेड भन्दा धेरै लगानी गरेकाे चुलाचुलीकाे खानेपानी अहिले अलपत्र जस्तै बनेकाे छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाले इलाम र झापा जिल्लामा खानेपानीको रेखदेख तथा निर्माण गर्दै आएको छ । चुरे क्षेत्रका निर्माणधीन कतिपय योजना बजेट अभाव र खोलाको धार परिवर्तन भएको कारण पानी संचालनमा समस्या भएको कार्यालयका प्रमुख शयनकुमार श्रेष्ठले बताउनु भयो । अव साे क्षेत्रमा पानी संचालन गर्न ठूलाे खर्च लाग्न सक्ने उहाँले बताउनु भयाे ।
जिल्लामा पछिल्लो समय डीप बोरिङ्ग र उच्च भूभागमा लिफ्ट प्रणालीका खानेपानी संचालनको कार्य थालिएको छ । तर नदि तथा खोला गहिरो उत्खनन् भएका कारण खानेपानी संचालनमा समस्या भएको दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हिमदल भण्डारीले बताउनु भयो । यता बर्षेनी लाखाैं रूपयाँ खर्च गरेर मुहान बनाउँदै अाएकाे दुम्से खानेपानी पनि अहिले खाेलाकाे पानी संचालन गर्न नसक्दा समस्या भएकाे छ । पानी खुवाउन यतिखेर २४ घण्टा बाेरिङ संचालन पर्नाले खर्च धान्न समस्या परेकाे भण्डारीले बताउनु भयाे ।
मावा खोलामा आएको बाढीले दुई वटा खानेपानीको मुहानमा क्षति गरेको छ । मुहान बगाएसँगै इलाम र झापा क्षेत्रका सयौं घर परिवार खानेपानीको समस्यामा परेको उनीहरुले बताएका छन् । उनीहरू अहिले खाेला खाेल्छीकाे पानी खाेजेर कुवा बनाएर पिउनु पर्ने बाध्यतामा रहेकाे चुलाचुली वडा नं. ५ शिखरकटेरीका प्रकाश घिमिरेेले बताउनु भयाे ।