अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको छ : एमाले अध्यक्ष ओली
८ मंसीर २०७९/दमक
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् । झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा धाँधली भएको बताएका हुन् ।
‘यो परिणाम अपेक्षित छैन । धेरै ठाउँमा धाँधली भएको छ । हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं,’ उनले भने ।
निर्वाचन परिणाप्रति असन्तुष्ट देखिएका ओलीले अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको जिकिर गरे । ‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो । अब त्यही दोहोरिनेछ,’ उनले भने, ‘क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेरभन्दा मोलमोलाइ गर्ने समय आएको छ ।’
निर्वाचनले मुलुकलाई स्थिरता दिने अपेक्षा एमालेले गरेको भए पनि मुलुक पुनः अस्थिरतामा फसेको भन्दै उनले पछिल्लो दुई वर्षमा भएकै फोहोरी अवस्था अबका दिनमा देखिने दावी गरे ।