बाह्रमासे सजिवन खेतीमा समस्याः कतै राम्रो उत्पादन कतै विरुवा नै मरे

१४ असार २०८०/विरेन्द्र सुब्बा

पछिल्लो समय झापामा केही यूवाहरुले थालेको मोरिङ्गा अर्थात सजिवन खेतीमा समस्या देखा परेको छ । भारतबाट ल्याएर रोपिएका बाह्रमासे सजिवन मर्ने वा रोगहरु देखा पर्ने गरेको छ ।

झापाको दमक वडा नं. ३ मा केही यूवाहरु मिलेर स्थापना गरेको कृषि फर्मले २ बर्ष अघि देखि नै व्यवसायिकरुपमा सजिवन खेती थालेको थियो । बजारमा माग अत्याधिक रहेको सजिवन खेतीबाट राम्रै आम्दानी लिन सकिन्छ भन्ने उदेश्यले थालिएको खेती प्राविधिक नहुँदा समस्या आएको खेतीका संचालक मनकुमार लिम्बुले बताउनु भयो । लिम्बुका अनुसार १० कठ्ठा क्षेत्रमा रोपेको धेरै जसो सजिवनका विरुवा मरेका छन् । तर रोपे पछि स्याहार गर्ने जनशक्ति नभएका कारण पनि यो समस्या आएको हो । रोपे देखि रेखदेख गर्न नभ्याएकाले कतिपय विरुवा मरे पनि बाँचेका विरुवाको अझै स्याहार गरे राम्र उत्पादन हुने बताउनु भयो । व्यवासिकरुपमा खेती गरिने सजिवन भिर पाखामा आफै उत्पादन हुने सजिवन भन्दा फरक हुन्छ । बाह्रमासे अर्थात बर्षै भरी फल्ने सजिवन कतै कतै सफलरुपमा उत्पादन समेत भएका छन् । नजिकै घिमिरे कृषि फार्ममा परिक्षणका लागि लगाइएको बाह्रमाशे सजिवन रोपेको ४ बर्ष पछि राम्रो उत्पादन भएको छ । फल्दा एउटै बोटबाट ५ देखि ६ हजारको एक पटकको सिजनमा आम्दानी लिन सकिने खेती गर्दै आउनु भएका चिरञ्जीवि घिमिरेले बताउनु भयो । खासगरी कुरिलो खेतीमा परिचित घिमिरले परिक्षण गरेर हेर्दा झापाको पनि डाँडा अर्थात बर्षातमा पानी परे पनि नजम्ने क्षेत्रमा राम्रो खेती हुने उहाँले बताउनु भयो ।

जिल्लामा यस अघि खासै खेती थिएन । बजारमा पनि यसको माग थिएन । तर पछिल्लो समय बजारमा पनि राम्रो मुल्य र माग हुन थाले पछि बजारको मागको आधारमा यूवाहरुले यस्ता फरक खेती गर्न थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार कम लगानी र मेहनेतमै सजिवन खेती हुन्छ । तर यसका लागि जमिनको बनौटमा विशेष ध्यान दिनु पर्ने हुन्छ । पानी जम्ने क्षेत्रमा यो खेतीमा समस्या आउन सक्ने उहाँले बताउनु भयो । नेपालमा पछिल्लो समय खासगरी स्वदेशमै केही गरौं भन्ने युवाहरुले नयाँ र फरक खेती तर्फ हात हाल्न थालेका छन् । तर भौगोलिक अवस्थाको पूर्ण अध्ययन नगर्दा खेतीमा सफलता लिन भने समस्या हुने गरेको कृषि प्राविधिकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Next post ललिता निवास प्रकरणका आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता