वेलैमा पानी नपर्दा नेपालकै धेरै धान उत्पादन हुने झापामा रोपाईंमा समस्याः नेपालमा गत बर्षको तुलनामा हालसम्म झण्डै आधा मात्र धान रोपाईं

२२ असार २०८०/डिकेश लामा
नेपालकै सवै भन्दा धेरै धान खेती हुने झापामा यस बर्ष पानी नपरेका कारण धान रोपाईंमा ढिलाइ भएको छ । असार अन्त्यसम्म झण्डै रोपाईं सक्ने किसानले हालै आएर मात्र रोपाई थालेका छन् । असार वित्न लाग्दा समेत भने जस्तो बर्षा हुन नसक्दा झापामा यस बर्ष रोपाईंमा समस्या भएको छ । पानी भन्दा धेरै घाम लागे पछि जमिनमा पानी नजमेको काराण रोपाई गर्न समस्या भएको हालै आएर रोपाईं थाल्नु भएका कमल गाउँपालिका वडा नं. ६ का किसान गोविन्द तिवारीले बताउनु भयो ।
यस बर्ष जेठ महिनाको अन्त्य तिर पानी नपरेर अत्याधिक गर्मी बढ्यो । जसले गर्दा किसानले धानको व्याड राखेर पनि सफलता पाउन सकेनन् । गर्मी र घामका कारण विऊ उत्पादनमा समस्या आएकाले रोपाई यस बर्ष ढिलो भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार ढिलै धान रोपाई भए पनि उत्पादनमा भने खासै असर नगर्ने बताउनु भयो । तर यता किसानले भने ढिलो धान रोप्दा उत्पादनमा ह्रास आउने बताएका छन् ।

असारको अन्तिम सातासम्म पनि रोपाईका लागि आवश्यक बर्षा हुन नसकेको कारण आकाशे पानीको भरमा खेती हुने जमिन बाँझै रहेको छ । कतै धान रोप्न तयार पारेको खेत समेत पुन सुक्न थाले पछि रोपाई गर्नै समस्या भएको किसानले बताएका छन् ।  झापामा सरदर ८७ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । झापामा अझै पनि ६० प्रतिशत भूभागमा सहज सिंचाईको व्यवस्था हुन सकेको छैन । तर आधा भन्दा धेरै जमिन आकाशे पानीको भरमा खेती गर्नु पर्ने हुँदा रोपाईमा ढिलाई भएको किसानको भनाइ छ ।

यसैगरी खेतीयाेग्य जमिनमध्ये बिहीबारसम्म देशभर २७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये असार २१ सम्म २६.७१ प्रतिशत अर्थात् ३ लाख ६२ हजार ६ सय २५ हेक्टरमा रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत बर्ष याे अवधिको ४० दशमलव ०४ प्रतिशत क्षेत्रमा खेती भएकाे मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २४ कराेड ठगेर फरार हुने गाैरादहका विश्वकर्मालाई तत्काल पक्राउ गर्न माग
Next post दमकका जेष्ठ नागरिकको साहित्यिक सक्रियता (फाेटाे फिचर)