धिमाल जाति साँस्कृतिक संरक्षणमा सक्रीय बन्दैः होमस्टेसँगै साँस्कृतिक भवन निर्माण गरिँदै (फाेटाे फिचर)
१९ असोज २०८०/बालदिवश तामाङ
खासगरी पूर्वी नेपालको झापा र मोरङ्गमा बसोबास रहेको धिमाल जातीले पछिल्लो समय आफ्नो सँस्कृति प्रदर्शनी सहितको होमस्टे निर्माणमा जोड दिएका छन् । झापाको दमकमा प्रथम नागरिकको रुपमा परिचित धिमाल जातिले संचालनमा रहेको होमस्टेलाई धिमालको सँस्कृतिसँग जोड्न सामुदायिक भवन समेत निर्माण गर्न थालेका छन् । दमक नगरपालिकाको आर्थिक सहयोगमा केही बर्ष देखि निर्माण थालेको धिमाल जातिका साँस्कृतिक विभागका संयोजक हरिलाल धिमालले बताउनु भयो । धिमालका अनुसार यस अघि आफूले जातिय सँस्कृति विकासमा धेरै स्थानमा साँस्कृतिक कार्याक्रमहरु लिएर पुग्ने गरेका धिमालहरुले अहिले स्थानीय स्तरमै केही गरौं भन्ने जाँगरका साथ एकजुट हुन थालेको बताउनु भयो ।
सरकारले समेत सहयोग गर्न थाले पछि धिमाल जातिले लोप हुँदै गएको सँस्कृतिको विकास गर्न साँस्कृतिक भवन सहित होम स्टे संचालनको तयारी थालेका छन् । दमक नगरपालिका वडा नं. ३ दोघरे क्षेत्रमा रहेका धिमाल जातिले दमक नगरको सहयोगमा साँस्कृतिक पर्दशनीका लागि भवन निर्माण थालेको धिमाल जातिका अगुवा गणेश धिमालले बताउनु भयो । निर्माणधीन भवन सम्पन्न पछि संचालनमा आएको होमस्टेका पाहुनालाई सामुहिकरुपमा साँस्कृतिक स्वाद पस्कन धेरै सहज हुनेछ । त्यसो त धिमाल जातिले जातिय विकास र सँस्कृतिको संरक्षणका लागि केही बर्ष अघि देखि नै होम स्टे संचालन गर्दै आएका हुन् । खासगरी धिमाल जातिको साँस्कृतिक खानाको रुपमा परिचित चुदुर अर्थात घुँगी लगायतको परिकार औधीरुपमा विक्री हुन थालेको धिमाल जाति होमस्टेकी अध्यक्ष शान्ति धिमालले बताउनु भयो । धिमाल जातिको पराम्परागत खानाहरु चिचिरी, तोले, बाग्य, चुदुर माछा लगायतका परिकार औधी रुचाइन थालिएको छ । खासगरी चुदुर अर्थात घुँगी चाँही औषधीकै रुपमा प्रयोग हुन थालेको छ । जसको सेवनबाट ग्यास्टिक जस्तो रोग समेत निराकरण हुने गरेको उहाँले बताउनु भयो ।
दमक नगरपालिकाको सहयोगमा एक कठ्ठा क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । भवन चाँडै निर्माण गर्ने गरी काम भइरहेको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले बताउनु भयो । इन्जिनियर सेनेहाङका अनुसार धिमाल समूदायले निर्माण थालेको भवनको काम केही ढिलो भएको छ । उहाँहरुको निर्माण समिति र ठेकेदारले चाँडो सक्ने गरी काम गर्न नगरपालिकाको तर्फबाट भन्दै आएको र आगामी आर्थिक बर्षमा भवन सम्पन्न हुन आवश्यक बजेट करिव २५ लाख विनियोजन भए भवनले अन्तिम स्वरुप पाउने उहाँले बताउनु भयो ।
झापाको दमक नगरपालिकाले देशमा संघीयता आएसँगै धिमाल जातिलाई पहिलो नगरसभाबाटै नगरको प्रथम नागरिकको रुपमा घोषणा गरेको हो । सरकारको समेत सहयोग पाए पछि पछिल्लो समय धिमाल जातिले साँस्कृतिक देखि जातिय विकासमा समेत जोड दिन थालेको उनीहरुको भनाइ छ ।