मानवीय स्वास्थ्यमा उपभोक्ता सचेत बन्दैः प्राङगरिक उत्पादन बारीबाटै विक्री (फाेटाे फिचर)
२ कार्तिक २०८०/बालदिवश तामाङ
उपभोक्ताहरु सचेत बन्दै जान थाले पछि झापामा प्राङगरिक कृषि बस्तुहरुको उत्पादन र प्रयोग बढ्न थालेको छ । प्राङगरिक तरिकाले खेती गर्ने कृषि समूहले पछिल्लो समय बजारसम्म पुर्याउन नपाउँदै धेरैजसो सागसब्जी बारीबाटै विक्री हुन थालेको छ । झापाको दमकमा सरकारको सहयोगमा ठूला ३ वटा सहकारी संस्था कृषि फार्मले विगत ४ बर्ष अघि देखि नै प्राङगरिक खेती गर्दै आएका छन् ।
सरकारले प्राङगरिक मिसन कार्याक्रम अन्तर्गत अनुदानमा टनेल निर्माण र भर्मिक सेट निर्माणमा ५० प्रतिशत अनुदानमा खेती थालिएको हो । दमकको वडा नं. १ मा ३ बर्ष अघि सरकारले टनेल निर्माणमा ५० प्रतिशत अनुदान सहयोग गरे पछि यूवाहरु मिलेर प्राङगरिक खेती शुरु गरे । १३ लाख रुपयाँ सरकारको अनुदानमा झण्डै ५० लाख रुपायाँ लगानी गरेर ४ जना युवाले थालेको प्राङगरिक खेतीको उत्पादनका बस्तुहरु पछिल्लो समय बारीबाटै विक्री हुन थालेको गोल्डसिड एग्रो फार्मका संचालक दिनेश घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार टनेल भित्र उत्पादन हुने सागसव्जी मुख्य गरी टमाटर, काँक्रा, करेला, रायो, तोरी, लटे लगायतका तरकारीबाली बारीबाटै विक्री हुने गरेको छ ।
बर्षमा ४ देखि ५ लाखसम्मको कारोवार हुँदै आएको छ । यस बाहेक लोकल कुखुरा, गाइ लगायतका पशुपंक्षी समेत पालन गरिएको छ । यस्तै दमक वडा नं. ३ मा समेत सरकारको अनुदान समेत गरी झण्डै ५ करोड लगानी गरेर १७ विगाह जमिनमा व्यवसायिक प्राङगरिक खेती थालिएको छ । पछिल्लो राज्यले कार्याक्रमलाई निरन्तरता नदिँदा र आर्थिक तरलताले केही समस्या आए पछि आफूहरुले व्यवस्थित गरेर खेतीलाई अगाडि बढाउँदै आएको संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो । उत्पादन गर्न सक्दा शहर बजारका धेरै उपभोक्ताहरु बारीसम्मै आउने गरेको अधिकारीले बताउनु भयो । तर पछिल्लो समय काम गर्ने खाटी किसानहरुको समस्या प्रति राज्य वेखबर बन्दा भने बजारीकरणमा समेत ठूलो चुनौती थपिएको उहाँले बताउनु भयो ।
दमक नगरपालिका उदासिन
यस्तै सरकारकै अनुदान सहयोगमा संचालनमा ल्याइएको दमक वडा नं. ९ को सेतुमारी कृषि सहकारी संस्थाले समेत उत्पादन समेत धेरै जसो फार्मबाटै विक्री हुने गरेको छ । उत्पादित कृषि उपार्जनहरु विक्री भए पनि दमक नगरपालिकाले भने अर्गानिक खेती तर्फ खासै चासो नदिएको संस्थाका व्यवस्थापक दिपक खनालले बताउनु भयो । खनालका अनुसार यस बर्ष देखि आफैले बजारीकरण गर्ने प्रयास थालिएको भए पनि खासगरी स्थानीय सरकार भने प्राङगरिक खेती तर्फ उदासिन बनेका छन् । आफूहरुले बारम्बार कार्यविधी बनाउन दमक नगरपालिका आग्रह गर्दा पनि नगरपालिकाले चासो नदिएको उहाँले बताउनु भयो ।
जिल्लामा पछिल्लो समय प्राङगरिक खेती गर्ने किसानहरुले टनेल निर्माण गरेर साखगरी वेमौषमी खेती गर्ने गरेका छन् । टनेल निर्माण गरेर तरकारीबाली खेती गर्दा धानबाली भन्दा धेरै आम्दानी हुने गरेको किसानले बताएका छन् । तर बृहतरुपमा उत्पादन भएको छोटो समयमा विक्री गर्नु पर्ने कृषि उपार्जनको उचित भण्डारण र बजार नहुँदा भने समस्या हुने गरेको कृषिका जानकार अर्जुन निरौलाले बताउनु भयो ।झापामा पछिल्लो समय झण्डै १० हजार हेक्टर हाराहारीमा तरकारीबाली खेती हुँदै आएको छ । सरकारले प्राङगरिक मिसन कार्याक्रम बनाएर अर्गानिक बस्तु उत्पादनमा जोड दिन थाले पछि गाउँगाऊँमा प्राङगरिक खेती गर्ने किसानको संख्या समेत बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।