
स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
५ माघ २०८१/डिकेश लामा
लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन थालेको छ । सरकारको विऊ उत्पादन तथा अनुसन्धान केन्द्रबाट पूर्व मुल विऊ नै भने जस्तो उपलव्ध नहुँदा खेती गर्न समस्या जेल्नु परेको किसानले गुनासो पोखेका छन् ।
नेपालमा समूदाय र निजी स्तरमा मकैको हाइव्रिड विऊ उत्पादन गर्नेहरुको संख्या औंलामा गन्न सकिन्छ । तर कोशी प्रदेशमै बृहतरुपमा उन्नत मकैको विऊ खेतीमा लागेको ८० विगाहमा सामुहिक खेती गर्दै आएको नमूना एकिकृत खेतीमा यो बर्ष पूर्व मुल विऊकै अभावमा भने जस्तो खेती गर्न नसकेको खेतीका अध्यक्ष वेदनिधि चापागाँईले बताउनु भयो । चापागाँइका अनुसार स्राेत विउ नै गुणस्तर प्राप्त हुन नसक्दा उत्पादनमा समस्या भएकाे बताउनु भयाे ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्याक्रमको सहयोगमा झापाको गौरादहमा संचालित नमूना एकिकृत खेतीले ५ बर्ष देखि हाइव्रिड मकैको विऊ उत्पादन गर्दै आएको छ । अघिल्लो बर्ष झण्डै १५ टन उत्पादन गरेको विऊ पनि विक्रीमा समस्या भएको खेतीका व्यवस्थापक अर्जुन खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार अघिल्लाे बर्ष उत्पादन गरेकाे ४० लाख मुल्य बराबरकाे विउ विक्री गर्न धेरै समस्या भएकाे बताउनु भयाे । बजारमा नेपालकाे विउ प्रति विश्वास हुन नसकेका कारण गुणस्तरहीन भए पनि भारतीय विउ नै किसानले रूचाउने गरेकाे उहाँले बताउनु भयाे ।
नेपालमा १ सय मेट्रिक टन हाराहारीमा मात्र हाइव्रिड मकैको विऊ उत्पादन हुँदै आएको छ । तर देश भर झण्डै साढे ९ लाख हेक्टर क्षेत्रफलमा हुँदै आएको मकै खेतीको १५ प्रतिशत क्षेत्रमा ३ हजार मेट्रिक टन हाराहारीमा हाइव्रिड मकैको विऊ खपत हुँदै आएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्याक्रमले जनाएको छ ।