२७ वैशाख २०८०,सारासन्देश समाचार
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दमकका मंगलबार साँझ भएको झडपमा १२ जना प्रहरी सहित १४ जना घाइते भएका छन् । आन्दोलनकारीले निकालेको राँके जुलुसलाई रोक्न खोज्दा झडप भएको बताइएको छ ।
आन्दोलनमा झडप शुरु भए पछि नियन्त्रण गर्न आन्दोलनकारीले राँकोले नै प्रहरी माथि आक्रमण गर्न थाले पछि स्थिति नियन्त्रण गर्न १९ सेल अश्रु ग्याँस, ५ राउण्ड हवाइ फायर र प्लाष्टिकको गोली समेत चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झडपमा परी आन्दोलनकारीका तर्फ प्रहरीको गोली लागेर गजेन्द्र फागो र दिक्षा क्षेत्री घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार संभव नभए पछि थप उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल लगिएको छ ।
यता १२ घाइते प्रहरी मध्ये प्रहरी सहायक हवल्दार शुशिल चौधरी र इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरिक्षक मनोजकुमार लामा शख्त घाइते भएका छन् । लामाको स्थानीय लाइफ लाइन अस्पतालमा उपचार गरे पश्चात कार्यालय फर्कनु भएको छ । चौधरीको भने आँखामा गम्भिर चोट लागेका कारण उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
प्रहरीले शान्तिपुर्वक आन्दोलन गर्नेलाई सहज तरिकाले स्कटिङ र सुरक्षा प्रदान गर्ने हिसाव सडकमा निस्किएको वेला आन्दोलनकारी आक्रमक भएर राँको लिएर नै प्रहरी माथि ढुङ्गा मुढा गर्ने राँकोले हिर्काउने गर्न थाले पछि झडपको स्थिति सृजना भएको बताइएको छ । यता आन्दोलनकारीले भने शान्तिपूर्वक निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको दावी गरेको छ ।
कोशी प्रदेशको नामाकरण सच्याउन ढिलो गरे देशले अझै ठूलो क्षति व्यहोर्नु पर्ने आन्दोलन पक्षका नेतृत्वले बताएका छन् । यस अघि विराटनगरको आन्दोलनमा ज्यान गुमेको लाजेहाङ्ग सुब्बाको मृत्युले पहिचान पक्षधर अझ शसक्त भएर आन्दोलनमा होमिएको उनीहरुले बताएका छन् । सरकारले जतिसक्दो चाँडो प्रदेशको नाम सच्याउन तत्परता नदेखाए थप आन्दोलन गरिने कोणसभाका बक्ताहरुले बताएका छन् ।

