अग्रज पत्रकार दाहाललाई दिएकाे धम्की प्रति खेद प्रकट गर्दै दाेषी उपर कानुनी कार्वाहीकाे माग
१९ असाेज २०८०/ झापा– झापाको दमकस्थित एक सहकारीले समाचार लेखेको बिषयलाई लिएर पत्रकारलाई दिएकाे धाँकधम्की प्रति पत्रकार महासंघ लगायतका विभिन्न संगठनले खेद प्रकट गरेका छन् । दमकमा रहेको फाल्गुनन्द सहकारी संस्थाका अध्यक्ष संकल्प लिङ्देनले अग्रज पत्रकार गञ्जबहादुर दाहाललाई बारम्बार धाकधम्की र बन्धक बनाउने जस्ता कार्य गरेकाे प्रति खेद प्रकट गर्दै तत्काल दाेषी उपर कानुनी कार्वाहीकाे माग गरिएकाे छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवं पूर्व सन्देश दैनिकका प्रधान सम्पादक तथा प्रकाशक दाहाल र मोरङका पत्रकार घनश्याम भण्डारी माथि प्रकाशित समाचारको विषयमा पटक–पटक धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएकाे नेपाल पत्रकार महासंघ झापा, प्रदेश समिति, प्रेस चाैतारी झापा, प्रेस चाैतारी प्रदेश समिति, पत्रकार मञ्च दमकले विज्ञप्ती जारी गर्दै स्वतन्त्र पत्रकारिता माथि धाँक धम्की दिनेलाइ कडा कानुनी कार्वाही गर्न माग गरिएकाे छ । झापाका सचिव डिकेश लामा, महासंघ प्रदेश समितिका महासचिव विवेक गाैतम्, प्रेस चाैतारी प्रदेश समितिका महासचिव गाेपाल झापाली, जिल्ला अध्यक्ष मनकुमार गदाल र पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले हस्ताक्षर गरी दाेषी उपर कानुनी कार्वाहीकाे माग गरिएकाे छ ।
लिङ्देनले असोज १३ गते पूर्व सन्देशमा प्रकाशित ‘बचतकर्ताको रकम गायव ’ शीर्षकको समाचारको विषयमा पत्रकारलाई धम्की दिएका थिए । पत्रकार दाहाललाई धम्क्याउदै सहकारीका अध्यक्ष लिङ्देनले सहकारीको दमकस्थित कार्यालयमा बोलाएर ‘तपाईं अहिले अपहरणमा पर्नुभएको छ, रिपोर्टरलाई यहाँ उपस्थित गराउनु, यो नमिलाएसम्म यहाँबाट जान पाउनुहुन्न’ भन्दै मानसिक तनाब दिएको घटनाप्रति पत्रकार संघसंस्थाले खेद प्रकट गरेको छ । पीडित पत्रकारका अनुसार लिङ्देनले फोन र म्यासेजमार्फत पनि पटक पटक धम्की दिएकाे भन्दै हिजाे अग्रज पत्रकार दाहालले कानुनी कार्वाही र सुरक्षाकाे माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा उजुरी समेत दिनु भएकाे छ ।
पत्रकार संघ, संस्थाले जारी गरेकाे बिज्ञप्तीमा भनिएको छ ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए कानुनी उपचारमा जानसकिने विकल्प छ । पत्रकारलाई मानसिक तनाब दिँदै अपहरणमा समेत परेको भनी धम्क्याएको घटना अत्यन्त निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्यप्रति महासंघले आपत्ति प्रकट गरेको छ । स्वतन्त्र पत्रकारिता माथिको ज्यादतीमा संलग्नलाई कानूनी दायरामा ल्याएर पीडित पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान दिन महासंघले सम्बन्धित निकाय समक्ष माग गरेको छ ।