२७ कार्तिक २०८०, उर्लाबारी(माेरङ) — पूर्वी मोरङको उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा गएराति आगलागी भएकाे छ । आगलागी नियन्त्रण गर्नेक्रममा चार प्रहरीसहित २८ जना जलेर सख्त घाइते भएका छन् । आगोमा परेका प्रायःको शरीर कम्तीमा ५० प्रतिशत सम्म जलेको प्रहरीले जानकारी दिएकाे छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार पसलमा आगलागी भएसँगै खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट हुँदा भएको थियो । आगो निभाउन पुगेका सर्वसाधारण र प्रहरी आगोको ज्वालामा परेका थिए । घाइते सबैको मोरङ, सुनसरी र झापामा रहेका निजी र सरकारी अस्पतालमा उपचार भइरहेको र ४० देखि ५० प्रतिशतसम्म शरीर जलेका झण्डै एक दर्जन घाइतेको उपचारकालागि काठमाडौं पठाउने प्रयास भइरहेका डिएसपी दाहालले बताउनु भयाे । उहाँका अनुसार आगलागीबाट कार, मोटरसाइकल र सुनचाँदी सहित घरमा समेत ठूलो क्षति पुगेको तर क्षतिको यकिन हुन सकेको छैन ।


आगलागीमा घर मालिक रुकुमबहादुर कार्की, प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी जवान दिलकुमार आचार्य, प्रहरी सहायक हवाल्दार मानवहादुर घिसिङ परेका छन् । यसैगरी स्थानीय ऋद्धिकुमार राई, कुमार तामाङ, अलिवावु मन्सुर, विशाल बस्नेत, शिवकुमार विक, नरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, केलाश गुरुङ, सुजन सेङदाङ, लालबहादुर लिम्बु, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बु, नविन थापा, हेमकुमार दाहाल, करण संग्रौला, तारामान सेरेङ, नेत्र भण्डारी, राजन लुइटेल र रवि तामाङ लगायत २८ जना सख्त घाइते छन् । यस्तै यता अाेखलढुङ्गा जिल्लाकाे चिसङ्गु गाउँपालिका वडा नं. १ मा टेकबहादुर खत्रीकाे घर जलेकाे छ। घर जल्दा झण्डै ५ लाख रूपयाँकाे क्षति भएकाे छ । यस्तै लक्ष्र्मीपूजा गर्दा खाँदबारीमा समेत एक घर जलेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *