सुपारीको सुल्फाले रोजगारीः खेर गइरहेकाे सुल्फाबाट राम्राे आम्दानी (फाेटाे फिचर सहित)
१७ फाल्गुण २०७८/बालदिवश तामाङ
पहिले पहिले त्यतिकै खेर जाने सुपारीको सुल्फा अर्थात पातको खोस्टाले अहिले आएर रोजगारी दिन थालेको छ । गाउँघरमै सुपारीको सुल्फाबाट विभिन्न परिकारका दुना टपरी, प्लेट तथा थाल निर्माण हुन थाले पछि रोजगारसँगै आम्दानी समेत हुने गरेको छ ।
सुपारीको सुल्फाबाट बनाइएको अस्थायी प्रकृतिका वर्तनले पछिल्लो समय पर्यावरण संरक्षणसँगै रोजगारी समेत सृजना गरेको छ । तेस्रो मुलुकसम्म पठाउने योजनाका साथ ६ करोड लगानी गरेर सुपारीको सुल्फा प्रशोधन उद्योग संचालन गरे पछि स्थानीय स्तरमा रोगजारी समेत सृजना भएको हिमालय लस उद्योगका संचालक श्याम प्रसाईंले बताउनु भयो ।
झापामा यस प्रकारको सुपारीको पातको खोस्टाबाट थाल प्लेट बनाउने उद्योग ५ स्थानमा संचालनमा छन् । यस्ता उद्योगले रोजगारी दिन थाले पछि सुपारीजोन कार्याक्रमबाट २ वटा उद्योगमा ४० लाख रुपयाँ अनुदान समेत दिएर थप व्यवस्थित गर्न थालिएको जोन कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार अनुदान कार्याक्रमले खेर गईरहेको सुपारी सुल्फाबाट आम्दानी गर्न सकिने भएकाले किसानलाई समेत फाईदा हुने बताउनु भयो । गाऊँघरमा सुल्फाको प्रशोधन उद्योग बने पछि सुल्फा बारीबाटै विक्री हुने गरेको छ । प्रति पात ३ देखि ५ रुपयाँसम्म पर्ने सुल्फा यस अघि त्यतिकै खेर गएको किसानले बताएका छन् ।
खेर गईरहेको सुपारीको सुल्फाबाट राम्रो वातावरणमैत्री अस्थायी प्रकृतिका प्लेट तथा थाल बन्न थाले पछि किसानलाई समेत फाइदा भएको छ । जसले गर्दा आम्दानीसँगै रोजगार समेत पाएको स्थानीयले बताएका छन् । गाउँघरमै उद्योग संचानल भए पछि यस अघि कुहिएर जाने सुपारीको सुल्फाले पछिल्लो समय नगद साट्न थालेको छ । जसले गर्दा रोजगारसँगै किसानलाई समेत आम्दानीको स्रोत बढेको उनीहरुको भनाइ छ ।