पेट्राेलियम पदार्थमा प्रति लिटर २ रूपयाँ बढ्याे
६ माघ २०७७, काठमाडौं- नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । याे सँगै निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल-मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४.३४, डिजेलमा प्रतिलिटर रु २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४.७२ घाटा रहेको निगमले जनाएको छ । अर्धवार्षिकरुपमा निगमलाई रु ४९.८८ करोड घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
हालको मूल्य समायोजनपश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु ३२.२६ र डिजेल प्रतिलिटर रु ३७.६४ ले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५-१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ । निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर रु एक हजार ३७५ कायम गरेको थियो ।
इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्यअनुसार मिति गत मङ्सिर २८ मा पेट्रोल तथा डिजेल-मट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः रु एक र रु दुई ले वृद्धि गरी पेट्रोलको प्रतिलिटर रु १०८ र डिजेल/मट्टितेलको प्रतिलिटर रु ९१ कायम गरेको थियो ।