नक्कली भूटानी प्रकरणका अभियुक्तले लगाए अधिबक्ताकाे भीडः बहस लम्बियाे
३१ जेष्ठ २०८०, काठमाडौँ – भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ प्रतिवादीका तर्फबाट ११० जना अधिबक्ताले वकालत गर्दै आएका छन् । ९ दिनसम्म बहस चल्दा पनि आधाकाे पनि बहस सकिएकाे छैन । जसमध्ये मंगलबारसम्म ६५ जनाले मात्रै बहस सकेका छन् । खाणका १० अधिवक्ताले बहस गरे पनि उनका तर्फबाट २४ जनाको पालो अझै आएको छैन । त्यसपछि टेकनाथ रिजालका तर्फबाट १६ जना अधिवक्ताको पालो आउनै बाँकी छ ।
फौजदारी मुद्दा दर्ता भएपछि अदालतमा हुने सुरु बहसको मुख्य उद्देश्य हो– मुद्दाको किनारा नहुञ्जेल अभियुक्तलाई थुनाभित्र राख्ने कि बाहिर ? ‘पुर्पक्षको सुनुवाइ’ वा ‘थुनछेकको बहस’ भनिने यस्तो प्रक्रिया सामान्यतः एक/दुई दिनमा सकिन्छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षको बहस चलेको ९ दिन पुग्दा सोमबारसम्म आधाभन्दा बढी अधिवक्ताको बहस हुनै बाँकी छ । किनकि आरोपीहरूले जिल्ला अदालतमा अधिवक्ताहरूको ‘शक्ति प्रदर्शन’ नै गराएका छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि सानु भण्डारी र केशव दुलालसम्म गरी प्रहरी हिरासतमा रहेका १८ प्रतिवादीविरुद्ध सुरुका तीन दिन सरकारी वकिलहरूले बहस गरेका छन् । नवौं दिनसम्म प्रतिवादीका ५५ जनाले बहस गरिसकेका छन्, ५५ जना नै बाँकी छन् । हालसम्म प्रतिवादीहरू टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी गरी १२ जनाको बहस सकिएको छ । अब बालकृष्ण खाण, आङ्टावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको पक्षबाट बहस हुन बाँकी छ । आङटावा शेर्पाका तीन, हरिभक्त महर्जनका दुई र शमशेर मियाँ तथा लक्ष्मी महर्जनका एक/एक अधिवक्ताले बहस गरेपछि पूरै एक दिन सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीश न्यौपानेले आदेश दिनुहुने छ ।
खाणका तर्फबाट मात्रै ३४ वकिल छन् । रिजालका पक्षमा बहस गर्न तयार १६ वकिल रहेका छन् । रिजालले भने आफूले पैसा दिएर कुनै अधिवक्ता नबोलाएको दाबी गर्नु भएकाे छ । टोपबहादुरका तर्फबाट १० जनाले बहस गरिसकेका छन् । छोरा सन्दीपका तर्फबाट ५ वकिलले बहस गरेका छन् जसमा अवतार न्यौपाने, ईश्वरीप्रसाद भट्टराई, बाबुराम दाहाल, ज्ञानेश्वर पराजुली र प्रविन सुवेदी छन् ।
पूर्वगृहसचिव पाण्डेका तर्फबाट राम घिमिरे, जगत जोशी, गणेश रेग्मी, रमणकुमार श्रेष्ठ र शरद कोइरालाले बहस गरे । गिरोहका नाइके केशव दुलालका तर्फबाट विकास भट्टराई, विकास थापा, योगेन्द्रबहादुर अधिकारी, विश्वास आचार्य, इन्द्रप्रसाद पोखरेल, नरबहादुर योगी र राजन भट्टराईसहित सात जनाले बहस गरेका छन् । त्यस्तै, चूडामणि पोखरेल, विनोद शर्मा, शालिकराम सापकोटा, रमण श्रेष्ठ, खडानन्द कँडेल, शरदप्रसाद कोइराला र शिवप्रसाद रिजालले सानु भण्डारीका तर्फबाट बहस गरेका छन् ।
प्रहरीले बरामद गरेको प्रतिवादीहरूको मोबाइलमा टेकनारायण पाण्डे र सानु भण्डारीबीच भएको संवाद छ, जहाँ पाण्डेले मन्त्री (बालकृष्ण खाण) का लागि ‘गिफ्ट’ छ कि छैन भनी धेरै पटक सोधेका छन् । अधिवक्ता गणेश रेग्मीले आइतबार बहसमा भन्दै थिए, ‘गिफ्ट भनेको त रकम होइन श्रीमान्, त्यो त सूचना हो, सूचना छ कि छैन भनेर कोड भाषामा कुरा भएको हो ।’ भनी प्रतिवाद समेत गरिएकाे बताइएकाे छ ।
यसैबीच यता भूटानी शरणार्थीहरूले समेत याे काण्डमा पैसा दिएकाे खुल्न थालेकाे छ । केही दर्ता छुटेर पारिवारिक विखण्डनमा परेका खाटी भूटानीले पनि चाँडै तेस्राे मुलुक जान पाउने इच्छामा १० लाखसम्म पैसा दिएकाे पीडित शरणार्थीले बताएका छन् । मुद्घा परेका ३० मध्ये फरार १२ जना पक्राउ पर्दा नक्कली भूटानी काण्डमा अझै तानिन सक्ने पैसा दिएर मुद्धा नलगाएका भूटानीले बताएका छन् ।