१८ असार २०८०,काठमाडौं– सत्ता गठबन्धन दलको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव लैजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको र छलफलपछि कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने प्रस्तावमा सहमति भएको बैठकपछि उहाँले जानकारी दिनुभएको हो । कोशी प्रदेशको सरकार गठनका लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरुको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएको नेता पाण्डेले बताउनुभयो ।
अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सिट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएको उहाँले बताउनुभयो । नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेर ढलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते साँझ ५ बजेसम्ममा नयाँ सरकार गठनको प्रस्ताव आह्वान गर्नुभएको छ । तर मुख्यमन्त्री कांग्रेस वा माओवादी केन्द्र कसले लिने भन्ने विषयमा प्रदेशमा सहमति जुटिरहेको छैन । केन्द्रबाट भने गठबन्धनले कांग्रेसका प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्न सुझाव दिएका छन् ।
