भारतीय सिमावर्ती क्षेत्रको चउरी बस्ती सँधै समस्यामाः झोलुङोको भरमा विरामीको व्यवस्थापन (फाेटाे फिचर)

२ भदौ २०८०/डिकेश लामा

झापाको भारतीय सिमावर्ती क्षेत्रको चउरी बस्ती टापुमा परिणत भएको ४ बर्ष भयो । बस्ती जोड्ने सडक र पुल बाढीले बगाए पछि सो क्षेत्रका दर्जनौं घर परिवार समस्यामा परेका छन् । २ बर्ष अघि बस्ती र खेती योग्य जमिनमा कन्काइ नदिको बाढी पसे पछि टापुमा परिणत भएको गाऊँमा अझै समस्या समाधान भएको छैन । बाढीले बगाएको बाटो र पुल नबन्दा गाडी चल्ने अवस्था नहुँदा सवैभन्दा धेरै विरामी लान ल्याउन समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दा उर्मिला वेस्राका अनुसार अहिले बस्तीमा कोही विरामी भयो भने एम्बुलेन्स पुग्न सक्दैन । खोलाले कटान गरेको क्षेत्रमा अहिले बाँसको २ स्थानमा पुल लगाएर मानिस ओहोर दोहोरसम्म गर्ने अवस्था छ । तर गाडी भने बस्तीमा पुग्न सक्दैन उहाँले भन्नु भयो । विरामी भयो भने झोलुङ्गो बनाएर बोकेर ल्याउनु पर्ने अवस्था रहेको वेस्राले बाँसको पुल तर्दै गर्दा बताउनु भयो ।


२०७६ साउन ६ गते सम्झौता भई ३५ करोड २६ लाख बजेटमा थालिएको चउरी देखि महेन्द्र राजमार्ग हुँदै सतासीधाम जोडिने सडक सवै तिर निर्माण भईसकेको छ । तर सिमावर्ती क्षेत्रमा रहेको चउरी बस्ती जोडिने क्षेत्रमा बाढीकै कारण सडक बनाउन नसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी उतमप्रसाद खरेलले बताउनु भयो । खरेलका अनुसार सडकको ठेक्का लाग्दा सानो कल्भर्टबाट बस्ती आसपासको पानी बहने क्षेत्र थियो । तर कन्काई नदिको भङ्गालो नै पसे पछि ५ सय मिटर भन्दा धेरै भाग कटान गरेर सडक बगाए पछि अहिले सो क्षेत्रमा पुलको आवश्यकता परेको छ । यस आर्थिक बर्षमा पुल लगाउनका लागि सरकारमा प्रस्ताव पेश गरिएको उहाँले बताउनु भयो ।

सडक नबन्दा भारतीय सिमावर्ती क्षेत्र गौरीगंज गाउँपालिका वडा नं. १ को चउरी बस्तीका धेरै बालबालिकालाई विधालय जान समेत अप्ठयारो परेको छ । बाढीसँगै विकासले ठगे पछि बस्तीबाट धेरै मानिसहरु बसाई समेत सर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । केही बर्ष अघिसम्म चउरी बस्तीमा ५ सय २ वटा घर रहेको स्थानीय अगुवा नविन राईले बताउनु भयो । तर अहिले बस्तीमा ७० देखि ८० वटामा मात्र घर रहेका छन् । बर्षेनी बाढीको चपेटा र विकासले ठगे पछि बस्ती बर्षेनी खाली हुँदै गएको पूर्व वडा सदस्य टंक श्रेष्ठले बताउनु भयो ।

झापा जिल्लालाई धेरैले सुगम जिल्लाको रुपमा हेर्ने गरेका छन् । तर दक्षिणी सिमावर्ती क्षेत्र बाह्रदशी, झापा गाउँपालिकाका केही गाऊँमा अझै बर्षातमा गाडी चल्न सक्दैन । गौरीगंज गाउँपालिकाकै केही सिमावर्ती बस्तीमा अझै बर्षातमा एम्बुलेन्स पुग्न नसक्ने अवस्था रहेको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवति राजबंशीले बताउनु भयो । राजवंशीका अनुसार बाटो बनेर पनि पुल नबन्दा नदिले घेरेको बस्तीमा बर्षातमा समस्या हुने गरेको बताउनु भयो ।कुनै वेला सयौं घर परिवार बसोवास गर्ने चउरी बस्ती बाढीको जोखिम र विकास पुग्न नसक्दा दिनानुदिन खाली हुने क्रम बढेर गएको छ । सरकारले ठेक्का लगाएको सडक समेत ४ बर्षसम्म नबन्दा सँधै सास्ती भोग्नु परेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध ‘फोक्सट्रोट चार्ली’ अभियान जारीः थप ७ जना पक्राउ
Next post रतुवा बाढीको जोखिमले बर्षेनी खोला तटका गाउँहरु खाली हुँदैः बाँसको बाँधको भरमा बास (फाेटाे फिचर)