झापामा यो बर्ष भव्यरुपमा चासोक तङनाम मनाउने तयारी

६ पौष २०८०, झापा– झापामा यो बर्ष १५ वटै पालिकामा भव्यरुपमा चासोक तङनाम पर्व मनाउने तयारी थालिएको छ । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा वृहत रुपमा चासोक तङनाम मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा पत्रकार सम्मेलन गर्दै यहि पुस १० गते चासोक तङनाम (न्वागी पूजा) को तयारी थालिएको जानकारी दिएको हो ।
कमल गाउँपालिका वडा नं. ५ गेउरियाको आदिवासी रंगशालामा हुने भनिएको चासोक तङनाम कार्याक्रममा यस पटक राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता रहने चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले बताउनु भयो ।
विगत बर्षझै यसवर्ष पनि लिम्बू समुदायले महान चाडका रुपमा मनाउदै आएको चासोक तङनामलाई निरन्तरता दिन यसवर्ष वृहत कार्यक्रम गरिएको उहाँले बताउनु भयो । चुम्लुङकी केन्द्रीय उपाध्यक्ष निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विहान विधिपूर्वक पूजाआजा गरेर अन्य औपचारिक कार्याक्रम थालिने बताइएको छ ।
कार्यक्रममा लिम्बू समुदायबाट उदीयमान कलाकारका रुपमा चिनिएका रुक्सना लिम्बु, दिपा सुहाङ, कञ्चन थलङ, दिलीप माखिम, राजन पन्धाक, सुनिता मिभक, निमा तामाङ, हिमाल लिम्बु सहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
सोही दिन भाषा, संस्कृतिविद श्रीजंघासिंह थेवेको ३१९ औं जन्मजयन्ती मनाउनुका साथै लिम्बू समुदायको सांस्कृतिक नृत्य केलाङ, धान नाच समेत प्रस्तुत गरिने छ । कार्यक्रममा चुम्लुङका झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकले जिल्लाभरी विभिन्न कार्यक्रम गरी चासोक तङनाम भव्य रुपले मनाउने तयारी भईरहेको जानकारी दिनु भयो । उहाँका अनुसार आदिवासी रंगशालामै कार्याक्रम गर्नुको उदेश्य सयौं पूर्खाहरुको चिहान मासेर अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइने भन्ने कुरालाई दबाव स्वरुप कार्याक्रम गर्ने तयारी भएको बताउनु भयो ।
यस्तै विहीबार मात्रै पत्रकार सम्मेलन गरी चिरात याक्थुङ चुम्लुङ नगर समितिले समेत पुस ९ र १० गते दुधेको निर्माणधीन रंगशालामा कार्याक्रम गर्ने तयारी थालेको छ । कार्यक्रम संयोजक विमल जवेगुका अनुसार शिवसताक्षीमा मात्र ४ स्थानमा कार्याक्रमको तय भएको छ । पहिले पहिले घरमा सिमित किराँती समुदायको अन्नवाली चढाउने यो पर्व अहिले सामुदायिक स्तरमा मनाउन थालिएको उहाँले बताउनु भयो ।
दुई दिनसम्म हुने सो कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार र स्थानीय साँस्कृतिक प्रस्तुती रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लघु उद्योगका उत्पादित बस्तुहरुको खाद्य गुणस्तर आफै मापन गर्न सक्षम बन्दै महिला (फाेटाे फिचर)
Next post बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा ३ घर जलेर नष्ट