लघु उद्योगका उत्पादित बस्तुहरुको खाद्य गुणस्तर आफै मापन गर्न सक्षम बन्दै महिला (फाेटाे फिचर)

५ पौष २०८०/डिकेश लामा

५ बर्ष देखि लघु उद्योगमा लागेका झापाको गौरादहका महिलाहरुले उत्पादन गरेको बस्तुको गुणस्तर मापन आफ्नै गर्न थालेका छन् । बजारमा लाने बस्तुमा हुने तत्वहरुको सहि मिश्रणका लागि मिनि ल्याब संचालनमा ल्याएका छन् । गौरादहमा सामुहिक खेतीबाट स्थापित नमूना अचार उद्योगका महिलाहरु अचारको गुणस्तर छुट्याउन आफै सक्ने भएका छन् । स्वीस फाउण्डेसनको टेक्निकल सहयोगमा तालिम र उपकरण लिएर पछिल्लो समय अचारको गुणस्तर मापन आफै गर्न थालेको उद्योगकी अध्यक्ष सकुन्तला घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार सुइस फाउण्डेशनको सहयोगमा प्राप्त खाद्य ल्याब र संस्थाकै सहयोगमा प्राप्त तालिमले आफूहरुले अचार लगायतका बस्तुको गुणस्तर छुट्याउन सक्षम बनेको बताउनु भयो ।

जिल्लामा स्थानीय तहमा खाद्य तत्व परिक्षण गर्ने ल्याबहरु अभाव रहेका छन् । सामन्य खाद्य तत्व परिक्षणका लागि विर्तामोड या विराटनगर पुग्नु पर्ने बाध्यता छ । तर तालिम दिएर सामान्य गुणस्तर आफै जाँच्न सक्ने बनाइको प्रशिक्षक खाद्य तत्व प्राविधिक प्रविन भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार साल्ट र एसिडटी लगायतका तत्वहरु कति हुनु पर्छ भन्ने कुरा केमिकललाई बुझिने गरी नामकरण गरी नमूना खेतीमा खोलिएका ५ वटा उद्योगका महिलाहरुलाई स्वस्थ्य उत्पादन गर्न गरिनुु पर्ने कुराहरु सिकाइएको बताउनु भयो ।

महिलाहरुले अहिले एउटै भवनमा चिप्स, पापड, दुग्ध परिकार लगायत ५ वटा लघु उद्योग संचालनमा ल्याएका छन् । नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्रमा स्थापित भएका यस्ता उद्योगले पर्यटक मार्फत बजारिकरण समेत सहयोग हुँदै आएको छ । पछिल्लो समय ७२ जना किसानको ८० विगाह जमिनलाई एकिकृत गरी चाक्लाबन्दी गरेर थालिएको खेती कृषि पर्यटनको रुपमा चिनिन थालेको छ । सरकारले १ सय नयाँ गन्तव्यमा सुचिकृत गरेको महारानीझोडाद्वारा प्रर्वतित नमूना एकिकृत खेती देशकै एक मात्र कृषि पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गएको छ । हालसम्म ३ करोड बढी राज्यको अनुदानमा निर्माण गरिएका नमूना पाहुना घर देखि यान्त्रिकरणले कोशी प्रदेशमै समूदाय स्तरमा उन्नत धान र मकैको विऊ उत्पादनमा बृहतरुपमा खेती हुँदै आएको खेतीका अध्यक्ष वेदनिधी चापागाँईंले बताउनु भयो । चापागाईंका अनुसार कृषि यन्त्रका कारण वेरोगार बनेका महिला दिदीबहिनीहरुले लघु उद्योग गरेर रोजगारी सृजना गरेका छन् ।

मेहनत गर्दा गाउँघरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरण गौरादहका महिलाहरुले देखाएका छन् । लघु उद्योगमा उत्पादन गरेका विभिन्न परिकारहरु अहिले देशका विभिन्न शहरहरुमा विक्री हुन थालेको उद्यमी महिलाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना र माेटर साइकल दुर्घटनामा ५ जनाकाे मृत्युः ढेड दर्जन बढी घाइते (व्यक्तिगत विवरण सहित)
Next post झापामा यो बर्ष भव्यरुपमा चासोक तङनाम मनाउने तयारी