चियाको मुल्य बृद्धिले साना किसान उत्साहितः उत्पादन भने गिरावट

३२ साउन २०८१/डिकेश लामा

नेपालकै सबै भन्दा धेरै चिया उत्पादन हुने झापामा चिया उत्पादन घटे पनि मुल्य भने बृद्धि भएको छ । झण्डै २ करोड केजी चिया उत्पादन हुने जिल्लामा यो बर्ष हरियो पतीको मुल्य बृद्धि भए पछि किसान साना किसान उत्साहित भएका छन् । अघिल्लो बर्ष यो सिजनमा हरियो पतीको मुल्य प्रति केजी १५ रुपयाँ मात्र थियो । तर यो बर्ष सो मुल्य बृद्धि भई २० देखि २२ रुपयाँसम्म पुगेको छ । उत्पादनमा गिरावट आएसँगै हरियो पत्तीको मुल्य बढेको मेचि नगर नगरपालिका वडा नं. ४ का किसान तथा व्यवसायी विनोदकुमार रञ्जितकारले बताउनु भयो ।

चियाको मुन्टाको टिपाइको आधारमा मुल्य निर्धारण हुने गर्दछ । कलिलो भागको मुल्य धेरै र डाँठ सहितको मुन्टाको मुल्य कमि र प्रयोग समेत फरक हुन्छ । तर यो बर्ष तुलनात्मकरुपमा चियाको मुल्य बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका निमित्त प्रमुख इन्द्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार चियाको मुन्टाको भागको प्रतिशतका आधारमा २० देखि ९० रुपयाँसम्म हरियो पतीको मुल्य पर्ने गरेको छ । झापामा अघिल्लो बर्ष १ करोड ८५ लाख केजी चिया उत्पादन भएकोमा आर्थिक बर्ष २०८०/०८१ मा ६ लाख केजी कम भएको अधिकारीले बताउनु भयो ।

झापा जिल्लामा ठूला उद्योगको क्षेत्रफल हाराहारीमा झण्डै ३ हजार साना किसानले ५ हजार हेक्टरमा चिया खेती गर्दै आएका छन् । जिल्लामा अर्थोडक्स चिया उत्पादन हुन थाले पछि बगानको आम्दानी समेत बृद्धि भएको मेचीनगर नगरपालिका वडा नंं. ५ का किसान जयकुमार अधिकारीले बताउनु भयो ।

नेपालको चियाको हव भनेर चिनिएको झापा र इलाम जिल्लाको अर्थोडक्स र हरियो चियाले तेस्रो मुलुकसम्म बजार लिने गरेको छ । यो बर्ष सीटीसी चियाको निर्यात घटे पनि तेस्रो मुलुकमा जाने चियाको निर्यात बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
नेपालकै सबै भन्दा धेरै चिया उत्पादन हुने झापामा चिया उत्पादनमा ह्रास आउन थालेको छ । बगानहरु फाँडिने र जलबायु परिवर्तनका कारण चिया उत्पादनमा गिरावट आउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उद्योगधन्दा घट्दैः झापा झण्डै ६ सय उद्योग तथा फार्म बन्द
Next post पथरी शिविरमा उदघोषण तालिम सम्पन्न