१२ भदौ २०८१/झापा

स्थानीय क्षेत्रमा खेर गईरहेको बस्तुको प्रयोग गर्दै झापाको कमलमा पूजा सामाग्री उत्पादन थालिएको छ । खासगरी पूजापाठमा प्रयोग हुने बस्तु भारतबाट अधिक आयात भइरहँदा त्यसलाई प्रतिस्थापन गर्न यूवाहरुले गाउँघरमै पाइने बृक्षजन्य बस्तुको प्रशोधनबाट पूजा सामाग्री उत्पादन थालेका छन्

पूजा पाठमा चाहिने पिपलको पात, दुवो, कुश देखि नैवेदमा प्रयोग हुने सामान गाउँघरमै पाइन्छन् । तर ती सामाग्री संकलन गरेर विक्री गर्दा आम्दानीसँगै रोजगारी समेत सृजना भएको उद्योगका संचालक विष्णुप्रसाद पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार उद्योगमा १०÷१२ जनाले दैनिक रोजगारी पाएका छन् भने घर बसेर धुप बाट्ने सहित ७० भन्दा धेरैले अर्धरोजगारी पाएका छन् ।

झापाको कमल गाउँपालिका वडा नं. ६ मा कोशी प्रदेशमै पहिलो पटक व्यवसायिकरुपमा खोलिएको पूजा सामाग्री उद्योगले पछिल्लो समय धेरैलाई रोजगार दिएको छ । धुप बाट्ने, संकलन गर्ने र उद्योगमा प्रशोधन र प्याकेजिङ गर्ने काममा अधिक महिलाहरुले रोजगार पाएको दिव्यृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. उद्योगकी संचालक बविता तिम्सिनाले बताउनु भयो ।

कमल गाउँपालिकमा कोशी प्रदेश स्तरीय आयुर्वेदेकि अस्पताल समेत संचालन हुँदै आएको छ । अस्पतालमा चाहिने जडिबुटी र पूजा सामाग्री उद्योगलाई लक्षित गरी किसानलाई खेती गर्न चालु आर्थिक बर्षमा कार्यक्रम नै राखिएको पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।

गाउँघरमा पाइने बस्तु संकलन गरेर ल्याए वापत तौल र आकारको आधारमा उद्योगले खरिद गर्ने गरेको छ । यूवाहरुले थालेको पूजा सामाग्री उद्योगले खेर गइरहेको बस्तुको प्रयोगसँगै रोजगारी सृजना गरेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *