मुख्य सदरमुकाम जाने सडक नबन्दा समस्या (फाेटाे फिचर)

२६ भदौ २०८१/डिकेश लामा

झापा जिल्लाको सदरमुकाम जाने मुख्य सडक नै २ पटक म्याद थप भइसक्दा समेत आधा पनि काम भएको छैन । सडक नबन्दा दैनिक हजारौंको संख्यामा हिड्ने सवारी साधन र स्थानीय बासिन्दाले समस्या भोग्नु परेको छ ।

विर्तामोड नगरपालिकाको थ्यौले चौक देखि सदरमुकामसम्म जोडिने ८ किलो मिटर सडकको ठेक्का लागेको ४ बर्ष भइसकेको छ । अढाइ बर्षमा सक्ने गरी काठमाण्डौंको कन्टेक प्रालिले ५८ करोड रुपयाँ लिएको ठेक्काको म्याद दुई पटक थप भइसकेको छ । तर हालसम्म सडकको काम भने आधा पनि निर्माण नभएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्वल खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार ताेकिएकाे म्यादसम्म छिटाे काम गरे मात्रै सकिने अवस्था रहेकाे छ । नत्र दाेस्राे पटक थप गरेकाे म्यादमा पनि सडक बन्न नसक्ने उहाँले बताउनु भयाे ।


४ लेनको सडकको दोस्रो पटक थप भएको म्याद आगामी पुस महिनामा सकिदैंछ । आधा पनि काम नभएकाले तोकिएको म्यादमा निर्माण सकिने कनै छाँटकाँट छैन । सडक समयमा नबन्दा धेरै सास्ती भएको स्थानीय बासिन्दाले बताएका छन् । विर्तामोड निवासी जनार्दन ठाकुरका अनुसार दैनिक हजारौं गाडी हिड्ने सडक समयमा नबन्दा विधार्थी, यात्रु देखि स्थानीय बासिन्दालाई समेत हैरान भएको बताउनु भयो । बाटो समयमा नबन्दा अधिक दुघर्टना समेत हुने गरेको छ ।


सडक डिभिजन कार्यालय दमक मार्फत हेर्दै आएको इलामसँग जोडिने अर्को महत्वपूर्ण सडक दमक रवि चिसा पानी पनि उस्तै रहेको छ । पटक पटक म्याद थप गर्दा पनि सडक बन्न सकेको छैन । सडक नबन्दा चुरे क्षेत्रको अप्ठ्यारो भागमा कतिपयले यात्राकोक्रममा ज्यान समेत गुमाएका छन् ।

सरकारले सडक निर्माणको जिम्मा लिएर काममा ढिलासुस्ती गर्ने वा गुणस्तरहीन कार्य गर्नेलाई कडाईका साथ कार्वाही गर्न सकेको छैन । जसले गर्दा कतिपय सडक र पुल निर्माणको कामले दशक वितिसक्दा समेत बन्न नसकेको स्थानीय बासिन्दाको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उपसभामुख रानाको राजीनामाको विषयले सदन तात्याे
Next post झापामा प्रसाद खाँदा विषादी बने पछि ७२ जना विरामी