१३ वैशाख २०८२/डिकेश लामा
पछिल्लो समय नसोचेको समयमा हावा हुरी र असिना पानी पर्न थाले पछि किसानको अन्नबालीमा ठूलो क्षति हुन थालेको छ । यस बर्ष हिउँदे बर्षा नभइ चैत्र महिनाको अन्त्य तिर परेको भारी असिना पानीले धेरै किसानको अन्नबाली काम नलाग्ने गरी नष्ट भएको छ ।
झापाको कमल गाउँपालिका वडा नं। २ सिमलडाँगीका महिलाहरुले लामो समय देखि व्यवसायिकरुपमा तरकारीबालीको खेती गर्दै आएका छन् । तर यो बर्ष नसोचेको वेला भारी बर्षासँगै आएको असिनाले लगानी समेत नउठ्ने गरी ठूलो क्षति भएको छ ।

असिना पानीले टमाटर, खोर्सानी, कोपी देखि मकैबालीमा समेत ठूलो क्षति गरेको छ । सिमलडाँगी क्षेत्रमा मात्र ५ विगाह क्षेत्रको मकै देखि अन्य तरकारीबालीमा समेत क्षति भएको गाउँका अगुवा डिल्लि पौडेलले बताउनु भयो ।

पछिल्लो समय जलबायु परिवर्तनका काराण बर्षात हुने समय चक्रमा नै परिवर्तन भएको छ । जसका कारण किसानले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो ।

झापा जिल्ला नेपालकै धान, मकै, चिया, सुपारी, रबर लगायतका खेतीमा सवै भन्दा धेरै हुने जिल्ला हो । तर जलवायु परिवर्तनका कारण समयमा बर्षा नहुने र हुँदा भारी बर्षा हुन थाले पछि किसानको खेती तथा बालीमा ठूलो क्षति हुन थालेको उनीहरुको भनाइ छ ।
