२७ वैशाख २०८२/डिकेश लामाअब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ । झापाको नमूना एकिकृत खेतीले संभवत जिल्लामै पहिलाे डिजिटल प्रविधिको माटो परिक्षण मेशिन प्रयोगमा ल्याएसँगै ल्याब विनै खेतबारीमै तत्काल माटोको जाँच गर्न सकिने भएको छ ।
ल्याबमा लगेर वा घुम्ति शिविर राखेर परिक्षण गर्नु पर्ने अवस्था गाैरादह नगरपालिकाकाे नमूना एकिकृत खेतीका किसानले हटाएका छन् । अव खेतीमै लगेर मेशिन जडान गरे पछि तत्काल माटोको अवस्थाको आवश्यक सम्पूर्ण विवरण उपलव्ध हुने गौरादह नगरपालिका वडा नं. ५ मा ८० विगाहमा ८ बर्ष देखि खेती गर्दै आएको नमूना एकिकृत खेतीका अध्यक्ष वेदनीधि चापागाँईले बताउनु भयो । उहाँका अनुसार खेतमा लगेर मेशिन गाडे पछि त्यसकाे परिणाम इन्टरनेट मार्फत विश्वका कुनै पनि स्थानबाट हेर्न सकिने छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद र गौरादह कृषि क्याम्पस सहितको सम्झौतामा गौरादह नगरपालिकाले विभिन्न बालीमा अनुसन्धान गर्दै आएको छ । जसका लागि खेतीमा मेशिनको प्रयोग गरी माटोको विस्तृत परिक्षण गर्न थालिएको कृषि क्याम्पसका विधार्थी तथा कृषि प्राविधिक नविन नेपालले बताउनु भयो । नेपालका अनुसार माटाेकाे अम्लीयपन, चिसाेकाे मात्रा, नाइट्राेजन, फसफाेरस लगायत अन्य खाद्य तत्व समेत एकैछिनमा हेर्न सकिने बताउनु भयाे ।
माटोको अवस्था नबुझी खेती गर्दा बाली उत्पादनमा ठूलो असर पर्ने हुन्छ । अन्धाधुन्धरुपमा रासायनिक मलको प्रयोगले माटोको अवस्था विग्रँदै गएको वेला जिल्लामा पहिलो पटक सिधै जमिनमा गाडेर माटोको विस्तृत परिक्षण गर्ने मेशिनले किसानलाई ठूलो राहत पुग्ने उनीहरुको भनाइ छ ।
