९ जेष्ठ २०८२/झापा
दुघर्टना न्यूनिकरणका लागि हरेक विद्यायलमा एक जना ट्राफिक शिक्षक उत्पादनका लागि तालिम शुरू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा गौरादह, कन्काई लगायतका पालिकाले शिक्षकलाई ट्राफिक शिक्षक बनाउने तालिम प्रदान गरेको छ । गौरादह नगरपालिकाले विहीबार ५४ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकलाई प्रशिक्षकका लागि तालिम प्रदान गरेको छ ।
सुरक्षित सडक र सवारी, हामी सवैको जिम्मेवारी भन्ने अवधारणा विधालयका विधार्थी मार्फत अभिभावक र गाउँघरसम्म पुगोस् भन्ने हेतुले प्रशिक्षण दिइएको हाे । विद्यालयका शिक्षकलाई प्रशिक्षण पश्चात ट्राफिक शिक्षकको प्रमाणपत्र प्रदान गरिने छ । प्रशिक्षणले विद्यालयका विधार्थी मार्फत दुघर्टना न्यूनिकरणमा टेवा पुग्ने गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजबंशीले बताउनु भयो ।

झापा जिल्लामा पछिल्लो समय सडक दुघर्टना बढ्दै गए पछि दुघर्टना न्यूनिकरणका सचेतना अभिबृद्धि थालिएको हो । जिल्लामा चालु आर्थिक बर्षको १० महिनामा मात्र दुघर्टनाबाट ८० जनाको मृत्यु भइसकेको प्रशिक्षणका सहजकर्ता जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताउनु भयो । प्रहरीकाे विवरण अनुसार नेपालमा पछिल्लाे १० बर्षमा २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । जुन संख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हाे भने नेपालमा प्रतिदिन ७ जनाले दुघर्टनाबाट ज्यान गुमाएका छन् ।
