१३ असार २०८२/डिकेश लामा
खेतीमा लागत कम गर्न किसानले ड्रम सिडर प्रविधिबाट जैविक मलको प्रयोग गरेर रोपेको चैते धान राम्रो उत्पादन भएको छ । यस बर्ष जिल्लामा प्रविधि र खेती बुझेका किसानले सिधै विऊबाट धान फलाउने प्रविधिलाई परिक्षणको रुपमा प्राङगरिक मलको प्रयोगबाट खेती गरेका छन् ।
कम लागतसँगै राम्रो धान उत्पादन हुन थाले पछि पछिल्लो समय किसानहरु ड्रम सिडर प्रविधिमा लागेका छन् । मलको अभाव र समस्या हटाउन जैविक मल लगाएर विऊ छर्ने प्रविधिको धान खेतीको उत्पादन समेत राम्रो भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन समन्वय समितिका अध्यक्ष सिताराम खड्काले बताउनु भयो । खड्का अनुसार जैविक मलकाे प्रयाेगबाट पनि राम्राे धान उत्पादन भएकाे छ । झारकाे व्यवस्थापन गर्ने तरिका पनि जैविक विधि अपनाउन सके अर्गानिक तवरबाट धान खेती समेत गर्न सकिने उहाँले बताउनु भयाे  ।

व्याड नराखी सिधै यन्त्रबाट धानको विऊ छरेर गर्ने खेती विधि ड्रम सिडर प्रविधि हो । गौरादह क्षेत्रमा गरेको यो प्रविधिको खेतीमा झार केही धेरै आए पनि राम्रो उत्पादन भएको नेपालमै नमूनको रुपमा ८० विगाह क्षेत्रमा सामुहिक खेती गर्दै आएको नमूना एकिकृत खेतीका अध्यक्ष वेदनीधि चापागाईंले बताउनु भयो ।कसो गर्दा धेरै धान फल्छ भन्ने विषयको खोजी गर्दैै आएका झापाका किसानले विना खनजोत तथा ड्रम सिडर प्रविधिमा समेत चैते धान खेती गर्न थालेका छन् । उत्पादन बृद्धिसँगै लागत समेत कम हुन थाले पछि ड्रम सिडरबाट धान खेती गर्ने किसानको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले बताउनु भयो ।

ड्रम सिडर प्रविधिमा धान खेती गर्दा धानको विऊ राख्ने, काढ्ने र रोप्ने खर्च समेत बचत हुन्छ । विऊ छरेर गरिने यो प्रविधिमा प्राङगरिक मलको प्रयोगबाट समेत धान खेती गरेर सफलता लिन थालेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *