११ असार २०८२/झापा
कोशी प्रदेशमा पहिलो पटक बालबालिकाका लागि स्वर्ण विन्दु प्राशन कार्याक्रमको शुरुवात गरिने भएको छ । प्रत्येक पुष्यमा स्वर्ण दिऔं, शारीरिक तथा बौद्धिक बल बढाऔं भन्ने नाराका साथ ६ महिना देखि ७ बर्षसम्मका बालबालिकालाई जडिबुटीबाट निर्मित औषधीजन्य थोपा झापाको कमलमा रहेको प्रादेशिक आयुर्वेदिक अस्पतालले निशुल्क खुवाउने तयारी थालेको अस्पतालका निमित्त प्रमुख डा. शिद्धार्थकुमार ठाकुरले बताउनु भयो ।

स्वर्ण विन्दु प्राशन अन्तर्गत स्वर्ण भस्मलाई विभिन्न औषधी मिलाएर घिउ र महको साथ खुवाउँदा बालबालिकामा रोग प्रतिरोधात्मक शक्ति बृद्धि, शारीरिक तथा मानसिक विकास प्रवर्धनमा ठूलो टेवा पुग्ने डा. अर्जुन अर्यालले बताउनु भयो ।

यही १३ गते शुक्रबार अस्पतालमा विहान ८ बजे देखि ४ बजेसम्म प्रदेश भरीका जो कोही बालबालिकाले निशुल्क स्वर्ण विन्दु खुवाउन पाउने छन् । यस बाहेक हरेक महिनाको पुष्य नक्षत्र अनुसार मासिकरुपमा नियमित स्वर्ण विन्दु खुवाइने बताइएको छ । झापाको कमलमा ३ बर्ष देखि संचालित कोशी प्रदेश स्तरीय आयुर्वेदिक अस्पतालले प्रदेशमा पहिलो पटक शुरु गरेको यो कार्यक्रम देश व्यापी बनाउन सके स्वास्थ्य जनशक्ति उत्पादनमा ठूलो टेवा पुग्ने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । स्वर्ण विन्दु खुवाउनका लागि कमल, गाैरादह, दमक, चुलाचुली लगायतका पालिकाबाट सहभागी हुनका लागि सूचना तथा जानकारी समेत गराउने काम भएकाे छ ।
