३२ असार २०८२/ डिकेश लामा 
नेपालकै सवैभन्दा धेरै उत्पादन हुने झापामा सुपारी खेती  बर्षेनी विस्तार बृद्धि हुँदै गएको  छ । तर खेती विस्तारसँगै उत्पादन समेत बृद्धि हुँदा निर्यात नखोलिएकै कारण बजारीकरणमा भने समस्या हुँदै आएकाे छ ।  अन्नबाली भन्दा राम्रो आम्दानी हुने भए पछि बर्षेनी किसानहरु सुपारी खेती विस्तारमा लागेका छन् । एक पटक रोपे पछि तेस्रो पुस्तासम्म हुने आम्दानी हुने सुपारीको विरुवा मात्र यो बर्ष झण्डै ३ लाख संख्यामा रोपिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुपारी जोन समन्वय समितिका अध्यक्ष हरि वाग्लेले बताउनु भयो । वाग्लेका अनुसार सरकारी तहबाट सुपारी कति विस्तार हुँदैछ भन्ने एकिन विवरण नभए पनि याे बर्ष भने अधिक विरूवा राेपाइ भएकाे छ । उहाँका अनुसार पछिल्लाे समय जिल्ला बाहिर समेत विरूवा लाने गरिएकाे छ ।
नेपालकै सवै भन्दा धेरै सुपारी खेती हुने झापामा सुपारी जोन कार्यक्रम संचालन भएको ६ बर्ष भएको छ । यो अवधिमा किसानलाई सिंचाई, प्रशोधन मेशिन देखि गोदाम घरसम्म निर्माण गर्ने कार्य भएको छ । सुपारी उत्पादन बढे पनि बजारीकरणमा भने धेरै समस्या रहेको व्यवसायीले गुनासो पोखेका छन् । अर्जुनधारा नगरपालिका वडा नं. ८ मा सुपारी व्यवसाय गर्दै अाउनु भएका धर्मेन्द्र गुप्ताका अनुसार अघिल्लाे बर्ष धेरै किसान तथा व्यवसायीले सुपारीबाट मार खेप्नु पर्याे । एकैजना व्यवसायी २ देखि ३ कराेडसम्म घाटामा गए पछि व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था समेत अाएकाे छ । गुप्ताका अनुसार सरकारले निर्यात नीतिगतरूपमा खुल्ला गरे नेपालकाे अधिक सुपारीकाे मुख्य बजार भारतमा राम्राे मुल्य पाउने गर्दछ । तर सरकारले सुपारी ठेक्कामा अायात खुल्ला गर्ने र स्वदेशी उत्पादनलाइ निरूत्साहित गर्ने गरेकाले अवैध ढंगबाट प्रहरी देखि भन्सार कर्मचारीसम्म सेटिङ मिलाएर सुपारी निर्यात हुँदै अाएकाे बताउनु भयाे  ।
सुपारी बगान भित्र अन्य खेती समेत गर्न सकिने भए पछि किसानले सुपारी खेतीलाई जोड दिएका हुन् । जिल्लामा सुपारी बगानभित्र कागती, धान, मकै, तोरी, मरिच लगायतका खेती समेत गर्ने गरिन्छ । सुपारी बगानमा धान खेती गर्दा सुपारी समेत मलजलका कारण धेरै उत्पादन हुने गर्दछ । त्यसैले धेरै किसानले सुपारी बगान भित्र बहुतले खेती गर्ने गरेका छन् ।

झापामा मात्रै बार्षिक सुपारी खेतीबाट बर्षेनी ७ अर्व रुपयाँ मुल्यको कारोवार हुने गर्दछ । तर राज्यले निर्यातमा उचित नीति बनाउन नसक्दा भने किसानलाई बजारीकरणमा ठूलो समस्या भएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *