झापामा यस बर्ष मनसुन अगावै आएको हावाहुरीले ठूलो क्षेत्रमा लगाएको केरा खेतीमा क्षति गरेको छ । जलवायु परिवर्तनका असरका कारण खेतीमा क्षति भए पछि लाखौं मुल्यको केरा उत्पादन हुने बगान खेर गएको किसानले गुनासो पोखेका छन् ।
झापाको बाह्रदशी गाउँपालिका वडा नं. ७ मा ६ विगाह क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएका लक्ष्मिप्रसाद चिमरियाले यो बर्ष यतिखेर विक्री गर्नु पर्ने झण्डै ५० लाख मुल्यको केरा विक्री गर्न पाउनु भएन । जलवायु परिवर्तनका असरका कारण मनसुन पूर्व आएको हावाहुरीले केरा बगान सखाप पारे पछि धेरै किसानले ठूलो मार खेप्नु परेको छ ।
त्यसो त जिल्लामा यस अघिका बर्षहरुमा सरकारले अनुदान दिए पछि धेरै युवाहरु केरा खेतीमा आकार्षित भएका छन् । केरा ब्लक क्षेत्र घोषणा गरी कार्याक्रम गर्दै आएको झापामा पछिल्लो समय आकास्मिक आउने प्रकोप र रोग किराले समस्या थप्दै गएको छ ।
केरा खेती गर्ने किसानले सहज विमा समेत गर्न पाएका छैनन् । विमा गर्न नपाउँदा लगाएको बाली नष्ट हुँदा क्षति व्यहोर्नु परेको उनीहरुले बताएका छन् । 
झापामा झण्डै २ हजार हेक्टर हाराहारी क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । स्वदेशमै केही गरौं भनेर बृहत केरा खेतीमा लागेका किसानले जलवायु परिवर्तनका असरका कारण ठूलो नोक्शान व्यहोर्नु परेको उनीहरुको भनाइ छ ।
