२८ साउन २०८२, झापा – झापाको दमकका मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषबारे अभिमुखी कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल झापाको आयोजना सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी गरिएको अभिमुखिकरण कार्यक्रममा दमक क्षेत्रका मिडिया सञ्चालक र पत्रकारहरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षाकोषका कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख ज्ञानेन्द्र प्रसाद यादवले सहजीकरण गर्नु भएको छ ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष कोशी प्रदेशका प्रमुख प्रमुख भट्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रकृया, प्राप्त हुने लाभ र आस्रित परिवारले पाउनेसेवा सुविधा लगायतका विविध विषयमा जानकारी गराउनु भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना भएको भट्टले बताउनु भयो । जसमा योगदानकर्ता कामदारको नाममा मासिक तलवको ३१ प्रतिशतको दरले रकम जम्मा हुन्छ । त्यसमध्ये कामदारको तलवबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने बताउनु भयो ।
त्यसमा आवद्ध भए वापत कोषले दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालिन पेन्सन लगायतका सेवा प्रदान गर्दछ । उक्त कोषमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र वैदेशिक रोजगारदाता पनि यो कोषमा आवद्ध हुन सक्ने भट्टले जानकारी दिनु भयो ।
यस्तै, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख यादवले लेखा व्यवस्थापन, कर प्रणालीबारेमा जानकारी दिनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुईटेलले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई भविश्यमा आईपर्ने संकटको सामना गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार र सहजकर्ताबीच अन्तरक्रिया समेत भएको छ ।
