झापा, ६ साउन २०८३-डिकेश लामा
झापामा डेंगु रोग नियन्त्रणका लागि गरिएका प्रयासहरू प्रभावकारी देखिन थालेका छन्। जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रियता र ‘खोज र नष्ट गर’ अभियानका कारण जिल्लामा डेंगुको संक्रमण क्रमशः घट्दै गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा करिब दुई हजार डेंगुका बिरामी भेटिएका थिए। चालु आर्थिक वर्षमा भने यो संख्या उल्लेख्य रूपमा घटेर ६ सय १ मा झरेको छ।
डेंगु सार्ने ‘एडिस’ जातको लामखुट्टे विशेष गरी सफा पानी जम्ने ठाउँमा हुर्कने भएकाले यसको नियन्त्रणका लागि झापाका १५ वटै स्थानीय तहमा हरेक वर्ष ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन हुँदै आएको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख व्रिजकुमार दासका अनुसार स्थानीय तहसँगको समन्वयमा सञ्चालित अभियानले संक्रमण दर घटाउन ठूलो मद्दत पुर्याएको छ।
झापामा डेंगुको जोखिम खासगरी बाक्लो जनघनत्व भएका सहरी क्षेत्रमा बढी देखिने गरेको छ। बजार क्षेत्र, निर्माणाधीन भवन, फालिएका टायर, गमला, ड्रम, प्लास्टिकका भाँडा र पानी जम्ने साना-साना स्थान लामखुट्टेको मुख्य बासस्थान बन्ने गरेका छन्। केही वर्षअघि डेंगुबाट बढी प्रभावित बनेको दमक नगरपालिकाका वडा-वडामा पनि अहिले नियन्त्रण अभियान तीव्र पारिएको स्वास्थ्यकर्मी देवीप्रसाद काफ्लेले जानकारी दिनुभयो।
डेंगु नियन्त्रणमा सरकारी निकाय र स्थानीय तहको अभियानसँगै सर्वसाधारणको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। घरवरपर पानी जम्न नदिनु, टायर, बोतल, ड्रम तथा छतमा जमेको पानी निरन्तर हटाउनु, लामखुट्टेको टोकाइबाट बच्नु र ज्वरो आएमा समयमै स्वास्थ्य संस्थामा परीक्षण गराउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। पछिल्लो समय स्थानीय नागरिकहरू पनि डेंगु रोकथामबारे पहिलेभन्दा बढी सचेत बनेका छन्।
यस वर्ष डेंगुका बिरामी घट्नु सकारात्मक संकेत भए पनि जोखिम भने अझै टरेको छैन। वर्षायाम, बढ्दो सहरीकरण र पानी जम्ने सम्भावनाका कारण संक्रमणको जोखिम कायमै रहेकाले सरसफाइ, सचेतना र ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ।
