५ साउन २०८३, झापा
पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०८२/०८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँभन्दा बढी हो । राजस्व असुली बढे पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेको छैन ।
आर्थिक वर्ष २०८२/०८३ का लागि मेची भन्सार कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत राजस्व संकलन गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा पछिल्लो आर्थिक बर्षमा राजस्व संकलन करिब ११ प्रतिशतले बृद्धि भएको छ ।
मेची भन्सार कार्यालय भएर पूर्वी नेपालमा उत्पादित चिया, अलैंची, अदुवा,अम्रिसो कुचो, छुर्पी तथा अन्य कृषिजन्य बस्तु निर्यात हुने गरेका छन् । यस्तै पेट्रोलिय पदार्थ, लताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औधोगिक बस्तु आयात हुने गरेका छन् ।
