१५ साउन २०८३, झापा
दृष्टिसम्बन्धी समस्याका कारण अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोष वृद्धि गर्न झापामा साङ्गीतिक सहयोग कार्यक्रम आयोजना गरिने भएको छ। आगामी असोज २४ र २५ गते झापाको दुधे र दमकमा कार्यक्रम गर्ने तयारी गरिएको आयोजक आदिवासी जनजाति नेत्रहीन संघ, झापाले जनाएको छ।
बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष भोजकुमार तामाङले आर्थिक तथा सामाजिक समस्यामा परेका नेत्रहीन व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले अक्षयकोष वृद्धि अभियान सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा पूर्वी नेपालका चर्चित लोकगायक शम्भु राईसहित अन्य कलाकारको प्रस्तुति रहने जनाइएको छ।

करिब चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। लक्षित रकम संकलन गर्न सकिए अक्षयकोष वृद्धि गरी त्यसबाट प्राप्त आम्दानी नेत्रहीन तथा दृष्टिविहीन व्यक्तिहरूको सहयोगमा प्रयोग गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा–प्रतिष्ठानकी सदस्य तथा साहित्यकार सुमित्रा वाङ्देल ‘चेली’, प्रकाश बुढाथोकीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले कार्यक्रम सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमका लागि एक सयदेखि एक हजार रुपैयाँसम्मका सहयोग टिकट बिक्री गरिने आदिवासी जनजाति नेत्रहीन संघ, झापाले जनाएको छ।
