२५ चैत्र २०७९,झापा– दमकमा शनिवार आयोजित कार्यक्रमकाबीच एक जना नेपाली भाषी भारतीय स्रष्टासहित ७ जना स्रष्टालाई सम्मान गरिएको छ । साहित्य कला संगम दमकमा स्थापित भवानी मिश्र पुरस्कार, सिर्जनशील साहित्य पुरस्कारबाट आसाम डिगबोइका लेखक तथा साहित्यकार युद्धबीर राना, वरिष्ठ साहित्यकार चुडामणी रेग्मी, युवराज नयाँघरे, प्रतिभा पौडेल, मुकुन्द प्रयास र हिम्मत नेम्वाङलाई सम्मान गरिएको हो ।

त्यसैगरी वरिष्ठ लोकगायक सिताराम ताजपुरियालाई तुलसादेवी न्यौपाने स्मृति पुरस्कार प्रदान गरिएको छ । जनही नगद ३५ हजार र सम्मान पत्रले स्रष्टालाइ सम्मान गरिएकाे हाे । साहित्यकला संगम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कुलपति राई, प्राज्ञ सुमित्रा वाङदेल, दमक नगर प्रमुख रामकुमार थापा, साहित्यकार डा. गोपाल भण्डारी, पुण्य खरेल, अक्षयकोष दाता डा. लेखनाथ न्यौपाने लगायतले सम्मानित स्रष्टाहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेका छन् ।
कार्यक्रममा लोकगायक ताजपुरिया र गायिका लक्ष्मी ताजपुरियाले गीत प्रस्तुत गरेर मनोरञ्जन गराएका छन् भने स्रष्टाहरुले रचना प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *