भूटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन सांसदकाे माग
२४ वैशाख २०८०,काठमाडौँ – माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन चुनौती दिएका छन् । प्रतिनिधसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने विषय उठेको हो । त्यसै क्रममा एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थीमात्रै नभई अरु विषय पनि छानबिन गर्नुपर्ने बताएका छन् । सांसदहरूले इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनु नै सबैकाे कल्याण हुने बताएका छन् ।
एमालेका सांसदहरूले नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा संलग्न आफ्ना सांसद तथा सचिव रायमाझीलाई पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विषयान्तर गर्न खोजेको सापकोटाको भनाइ छ । उहाँले एमालेले उक्त प्रकरणलाई विषयान्तर गर्न खोजेको र सदन कब्जा गर्न खोजेको समेत बताएका छन् ।
यस्तै यता नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गत भदौ महिनामै नक्कली भुटानी शरणार्थीको विषय संसदमा उठेको भन्दै त्यसबेला सरकारले वेवास्ता गरेको बताएका छन् । अहिले पत्रपत्रिकाहरुमा नक्कली भुटानी शरणार्थीको आएका छन् । तर यो विषय भने नयाँ नभएकाे उहाँले बताउनु भयाे । यस्तै भुटानी शरणार्थी मात्रै नभएर अन्य विषयमा पनि छानबिन हुनु पर्ने अन्य एमालेका सांसदले माग गरेका छन् ।