फाल्गुनन्द सहकारीले सरसफाइ सहित सामाजिक काममा समेत जाेड दिने
२१ कार्तिक २०८०, दमक– झापाकाे दमक नगरपालिका वडा नं. – ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले सरसफाई, वृक्षारोपण, बालबालिकाको पोषणयुक्त खानपान, सामाजिक मेलमिलाप सम्बन्धीका सामाजिक कार्यक्रमहरु गर्ने घाेषणा गरेकाे छ । १२ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै संस्थाले साे जानकारी दिएकाे हाे ।
संस्थाले औपचारिक कार्यक्रम गरि संस्थाका प्रमुख सल्लाहकार जगनसिंह सेन जवेगु, संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प)सहित सञ्चालक समितिका पदाधिकारी,सदस्यहरुले संयुक्त रुपमा बार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।
प्रतिवेदन सार्वजनिक गदैं अध्यक्ष पदम (संकल्प) लिङदेनले संस्थाले गत आर्थिक बर्ष २०७९/०८० मा मुलुकमा आएको आर्थिक मन्दीको प्रभावका बाबजुद सन्तोषजनक कारोबार गर्न सफल भएको बताउनु भयाे । प्रतिवेदनमा सहकारी मूल्य मान्यता र सिद्धान्त भित्र रहेर लक्षित वर्गहरुको आर्थिक गतिबिधिमा सघाउँदै सरसफाई, हाम्रो शहर हरित नगर कार्यक्रम अनुरुप एक घर एक वृक्षारोपण, बालबालिकाको पोषणयुक्त खानपान, सामाजिक मेलमिलाप सम्बन्धीका सामाजिक कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।
२० बर्ष पूरा गरेका सदस्यहरुको स्वास्थ्य जाँच (होलबडी ) मा नगद ५ हजार सुविधा दिने, कर्जाको बीमा अनिवार्य गरिने, मृगौला, पत्थरी, महिलाको पाठेघरको अप्रेशन सम्बन्धि र पुरुषको प्रोस्टेटको अप्रेशनमा नगद ५ हजार दिने, स्वरोजगार कार्यक्रम मार्फत न्यून आय भएका सदस्यहरुलाई न्यून ब्याजदरमा ४२ महिने ऋण लगानी गर्ने लगायतका लोकप्रिय योजना तथा कार्यक्रमहरु प्रस्ताव गरिएको संस्थाका कार्यकारी प्रमुख दिलीप जवेगुले जानकारी दिनु भयाे ।
संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्य संख्या २ हजार २ सय ४५ जना छन् । संस्थाका अध्यक्ष लिङदेनका अनुसार कार्तिक २२ गते विर्तामोड, २३ गते झिलझिले, २४ गते उर्लावारीमा इकाइगत साधारण सभा गरी यहि मसिंर ५ गते माइन्यूट प्रमाणिकरण तथा निर्णय एकीकृतसहित दमकको पशुपति सेवा सदनमा साधारण सभाको समापन गर्ने कार्यक्रम रहेकाे बताउनु भयाे । संस्थाले अागामी दिनमा सहकारी निमावलीमा रहेर उपभाेक्ता हितका नयाँ याेजना समेत संचालनकाे तयारी थालेकाे बताइएकाे छ ।