हार्दिक श्रध्दान्जलीःरहेनन् अब जनगायक टुहुरे

१० भदाै २०७८, काठमाडौँ– प्रगतिशील, जनवादी तथा क्रान्तिकारी गायककाे रूपमा परिचित गायक जेबी टुहुरेकाे आज मृत्यु भएकाे छ । बिहीबार निधन भएका जनगायक टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएर श्रदान्जली दिनु भयाे  । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
७८ बर्षीय टुहुरे भदौ १ गते दिउँसो काठमाडौंको कलंकीस्थित निजी निवासमा मष्तिष्क पक्षघात (स्ट्रोक) भएपछि वयोधा अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । मधुमेह, फोक्सो र उच्च रक्तचापको समेत समस्या झेलिरहेका उहाँकाे अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार भइरहेकाे थियाे ।

२००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिदैँ जनमत निर्माणका लागि आफ्नो आवाज दिनु भएकाे छ ।  जेबीको पूरा नाम जुठबहादुर खड्गी हो । २०२१ मा बुवाको निधनपछि उनी टुहुरो बन्नु भयाे । त्यतिखेर नामको पछाडि ‘टाइटल’ राख्ने चलन थियो । उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ थप्नु भएकाे हाे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उहाँकाे नाम टुहुरेबाटै प्रख्यात हुन पुग्याे । २०२० को दशकदेखि कम्युनिष्ट पार्टीको निकटमा रहेर पार्टी निर्माणका लागि गीत गाउँदै हिँड्नु भएकाे उहाँ २०६६ मा उनी माओवादीमा प्रवेश गर्नु भयाे । पाँचदशक प्रगतिशील सांंस्कृतिक क्षेत्रमा सक्रिय रहनु भएका टुहुरेका ‘आमा दिदी बहिनी’, ‘बसाईं हिँड्नेको ताँतीले’, ‘छोराहरु हो’, ‘जुनीभरी मुटु’,  ‘रातको अनिँदो’ लगायतका थुप्रै चर्चित गीतहरू रहेका छन् ।  काठमाडौंको कलंकीमा बस्दै आउनु भएका टुहुरेका श्रीमती, एक छोरा, चार छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २४३३ संक्रमित, १९२९ निकाेः २६ जनाकाे मृत्यु
Next post आगामी ३ दिन भारी बर्षा हुने अनुमान