पत्रकारकाे समुचित विकास गर्न महासंघ झापाले गर्याे समिति गठन

२८ माघ २०७८,झापा– पत्रकारिता क्षेत्रकाे समुचित विकास गर्न पत्रकार महासंघ झापाकाे अाज बसेकाे वैठकले अनुसाशन समिति गठन गरेकाे छ । नेपाल पत्रकार महासंघ झापा शाखाले महासंघको विधानलाई पालना गर्न गराउन, पत्रकारितामा शुद्धिकरण, पत्रकारिताको मूल्य मान्यता कायम तथा गरिमा र मर्यादा उच्च राख्नु पर्ने आवश्यकतालाई आत्मसात गर्दै अनुशासन तथा अध्ययन समिति गठन गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा शुक्रवार बिर्तामोडस्थित महासंघको कार्यालयमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

अनुशासन समितिको संयोजकमा चन्द्र भण्डारी र सदस्य गोविन्द क्षेत्री, लीला बराल, विमल लामिछाने, राजबाबु शंकर, सावित्रा दाहाल र गणेशमान मुखिया रहेका छन् । समितिले झापाका पत्रकार तथा पत्रकारिता क्षेत्रमा अनुशासन कायम गर्न गराउन महासंघको विधान र पत्रकार आचारसंहिताको अधिनमा रहेर छुट्टै कार्यविधि बनाएर लागू गर्न सक्ने वैठकले उल्लेख्य गरेकाे छ ।

त्यसैगरी एउटा सञ्चार माध्यममा आएको समाचार अर्को सञ्चार माध्यमले खण्डन गर्ने, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा केही पत्रकारले पत्रकारिता र पत्रकारकै विषयमा तथ्यहीन कुरा प्रकाशन गरी पत्रकारिताबारे समाजमा भ्रम र वितृष्णा जगाउने प्रवृत्ति बढेकाले त्यस्तो कार्य तत्काल बन्द गर्न महासंघ सम्वद्ध सबैमा आग्रह गरेको छ । पत्रकारिता क्षेत्रको समस्या, उठेका प्रश्न र यस क्षेत्र सुधारका लागि पत्रकार महासंघ तथा पत्रकारका आन्तरिक फोरमहरुमा तथ्यमा आधारित भएर बहस छलफल गर्न तथा पत्रकार आचारसंहिताको पालना गर्न महासंघ सबैमा अपिल समेत गरेको छ ।

केही दिन यता बिर्तामोडस्थित बीएण्डसी अस्पतालसँग जोडेर पत्रकार तथा झापाको समग्र पत्रकारिता क्षेत्रमाथि उठेका प्रश्नका विषयमा अध्ययनका लागि महासंघले प्रदेश समितिलाई अनुरोध गर्ने निर्णय वैठकले गरेको छ । त्यसैगरी महासंघको विधान बमोजिम योग्यता पुगेका इच्छुक सञ्चारकर्मीलाई महासंघको सदस्यता प्रदान गर्नका लागि महासंघका सचिव डिकेश लामाको संयोजकत्वमा अर्जुन राजवंशी, रञ्जित प्रसाई, अनिल वाग्ले र मनिषा चम्लागाईं रहेको छानबिन तथा सिफारिस समिति गठन भएको छ । उक्त समितिले आवश्यक परे सदस्य हुन इच्छुक सञ्चारकर्मीको योग्यता परीक्षण गर्न परीक्षाविधि पनि कार्यान्वयन गर्ने समेत निर्णय गरिएको छ ।

महासंघको कार्यालयमा स्थापित पुस्ताकालय र स्थापना गर्न लागिएको ई–पुस्ताकालय तथा प्रविधियुक्त अध्ययन कक्षको व्यवस्थापनका लागि महासंघकी उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा सदस्य अच्युत सुवेदी, सन्तोष शर्मा, होमप्रकाश अधिकारी र द्रोण अधिकारी रहेको पुस्ताकालय तथा इ–पुस्तकालय व्यवस्थापन समिति समेत गठन गरिएको महासंघ झापा शाखाका सचिव डिकेश लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३६९ संक्रमित, २२३८ निकाेः १२ जनाकाे मृत्यु (तालिका सहित)
Next post नेपालमा आज ११२८ संक्रमित, २२१५ निकाेः १४ जनाकाे मृत्यु